लकाशको नयाँ कृति बजारमा

चितवन, ६ माघ । साहित्यकार लकाश पौडेलको नवौँ कृतिको रुपमा वाजीकरण कथा संग्रह विमोचन गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली वाङमय समाज नेपाल नारायणी शाखाको आयोजनामा शनिबार भरतपुरमा कृति विमोचन गरिएको हो ।
कृति विमोचनका क्रममा लकाशको वाजीकरणको समीक्षा गर्दै साहित्यकार डिआर पोखरेलले वाजीकरण नयाँ खालका कथाहरु पस्कन सफल भएको बताए । ८२ पृष्ठको किताबमा २७ वटा कथाहरु समाहित भएका उल्लेख गर्दै पोखरेलले छोटा कथा भएकाले एकै बसाईमा पुस्तक पढेर सकिने बताए । कथा संग्रहमा रोमाञ्चक र सामाजिक कथाहरु उल्लेख गरिएको पोखरेलको भनाइ थियो ।
उक्त कथा संग्रहको समीक्षा गर्दै प्राध्यापक कपिलमणि शर्माले कथा संग्रहको शीर्षक अनुसार कथाका विषयहरु केन्द्रित भएको बताए । कथाले धेरै मोड लिएको उल्लेख गर्दै शर्माले छोटा छरिता घटना प्रदान कथाहरु कथा संग्रहभित्र रहेको धारणा राखे ।
सह प्राध्यापक तथा समीक्षक डाक्टर केशव चालिसेले उक्त कथा संग्रहको समीक्षा गर्दै कथा संग्रहले माक्र्सवादी चिन्तनलाई उजागर गरेको बताए । कथा संग्रहमा लैंगिक विभेदका घटनाहरुलाई उजागर गरिएको भन्दै चालिसेले मनोविज्ञानमा आधारित र सामाजिक यथार्थबादी कथाका कारण कथा संग्रह मजबुद बनेको दावी गरे । कथा संग्रहमा डडेलधुराबाट कथा सुरु भएर विभिन्न घटनापरिघटनालाई पछ्याउँदै भरतपुरमा पुगेर अन्तिम कथा सकिएको छ ।
औषधिबाट पुरुषत्व बढाउने काम कथाले देखाएको समीक्षक चालिसेको भनाइ छ । साहित्यकार गोविन्दराज विनोदीको अध्यक्षतामा भएको पुस्तक विमोचनको प्रमुख अतिथि सर्जक प्रेमविनोद नन्दन रहेका थिए ।

Promise Education Consultancy