‘साली कस्को भेनाको’ चलचित्रको छायांकन चितवनमा

आनन्द पोखरेल
चितवन, ०७ माघ । स्थानीय कलाकार पुष्प आचार्यको लेखनमा निर्माण भइरहेको चलचित्र ‘साली कस्को भेनाको’को छायांकन तीव्र पारिएको छ ।
माघ २ गतेदेखि छायांकन सुरु गरिएको चलचित्रको दुई वटा गीतको छायांकन चितवनमा हुँदैछ । चलचित्रमा रहेको लभ सङको छायांकन सकिएर ‘ढलढल ढल्काउली नानी शिरैमा शिरबन्दी’ बोलको गीतको छायांकन भइरहेको आचार्यले बताउनुभयो । चार वटा गीत रहेको चलचित्रका दुई वटा गीत चितवनमा छायांकन सकेपछि बाँकी दृश्यहरु कास्कीको धम्पुस, लुम्ले, काँडे, नौ डाँडा लगायतका स्थानमा छायांकन गरिने आचार्यको भनाइ छ ।
४५ दिनमा छायांकन सक्ने गरि छायांकन सुरु गरिएको चलचित्र निर्माणमा एक करोड रुपैयाँ भन्दा बढी खर्च हुने आचार्यले जानकारी दिनुभयो । मगर समुदायको कथालाई मुख्य रुपमा प्रस्तुत गर्न खोजीएको चलचित्रमा मानवीय संवेदनालाई उजागर गरिने आचार्यले बताउनुभयो । सामाजिक, सांस्कृतिक, पारिवारिक चलचित्र निर्माण गरिने उल्लेख गर्दै श्रेष्ठले चलचित्रमा ठट्यौली दृश्य समेत रहने छ ।
विल्सन विक्रम राई, सुष्मा कार्की, रजनी गुरुङ, मरिस्का पोखरेल, जयनन्दन लामा, कविता आले, बुद्धि तामाङलगायतको अभिनय रहेको चलचित्रको भद्र भुजेलले निर्देशन गर्दैछन् । प्रसाद श्रेष्ठ, सुरज शाही ठकुरी, मिन घलानको संगीत रहेको चलचित्रमा पुष्प आचार्य र सुरज शाही ठकुरीले गीतको रचना तथा दीर्घ गुरुङले चलचित्रको छायांकन गर्दैछन् । वसन्त श्रेष्ठ, गम्भीर विष्ट र सुमीत लामाले नृत्य निर्देशन गरेको चलचित्रको सुशील गोपाल न्याछ्यो, कमला भट्टराई, विशाल श्रेष्ठ र मुक्ति अधिकारी निर्माता रहेका छन् ।
प्रसाद श्रेष्ठको प्रस्तुतीको रुपमा रहेको चलचित्र साली कस्को भेनाको मुभिङ पिक्चर्स प्रालिको व्यानरमा निर्माण भइरहेको चलचित्र हो ।

Promise Education Consultancy