बैठकमा के भने १५ नेताले ?: देउवाले ठट्टा गर्दै भने- ‘धकेलेरै निकाल्ने हो त ?’

काठमाडौँ,६ माघ । कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचनमा पार्टीले आशा गरेअनुसार सफलता प्राप्त गर्न नसकेको स्विकार्दै महासमिति बैठकले नयाँ रक्तसञ्चार गराउने बताएका छन् ।  ‘परिणामका पछाडि जे–जे कारण होलान्, ती सबैका सन्दर्भमा समय लिएरै व्यापक रूपले गम्भीर समीक्षा-छलफल एवं अन्तक्र्रिया गर्न जरुरी छ । सभापतिका नाताले सम्पूर्ण साथीहरूलाई म खुला ढंगले समीक्षामा सहभागी हुन आग्रह गर्दछु,’ देउवाले केन्द्रीय समिति बैठकमा भने, ‘निकट भविष्यमा पार्टीको महासमिति बैठक बस्नेछ । राज्यको नयाँ संरचनाअनुसार पार्टीको विधानमा संशोधनका साथै नयाँ रक्तसञ्चार हुने गरी आगामी रणनीति तय गर्न महासमितिले नीतिगत र वैधानिक दिशानिर्देश गर्नेछ ।’

संविधानअनुरूपको पार्टी संरचनामा अत्यावश्यक हेरफेर गर्न विधान संशोधन गर्ने, पार्टीका सबै संगठनात्मक संरचना र तह तथा भ्रातृ एवं शुभेच्छुक संघ–संस्थालाई थप सुदृढ, गतिशील र सशक्त बनाउन नयाँ योजना र कार्यक्रमका साथ अघि बढ्ने उनले प्रतिबद्धता जनाएका छन् ।आजको नयाँ पत्रिकामा खबर छ ।

देउवाले ठट्टा गर्दै भने, धकेलेरै निकाल्ने हो त ?
सभापतिले देउवाले बैठकको बिट मार्दै भने, ‘माओवादीसँग गठबन्धन गर्दा पार्टीभित्र प्रश्न उठ्यो, मेरो आलोचना भयो । माओवादीसँग गठबन्धन भएको भए हामी यति खुम्चनुपर्ने थिएन । मधेसीसँग गठबन्धन गरौँ भन्दा आफैँ जित्छौँ भन्ने विश्लेषण पार्टीबाटै आए, यसकारण मधेसीसँग गठबन्धन हुन सकेन ।’ उनले युवाहरूलाई नहतारिन, तर जिम्मेवार हुन आग्रह गरे । ‘समयक्रममा पुस्ता हस्तान्तरण हुन्छ । धकेलेर निकाल्छु भन्नुभयो भने हामी पनि अडिन खोज्नुपर्‍यो नि, धक्का खाएर नै निस्कनु त भएन,’ व्यंग्यात्मक शैलीमा ठट्टा गर्दै देउवाले भने, ‘जिम्मेवारी हाम्रै काँधमा आयो भन्ने ठानेर युवाहरूले काम गर्नुस् । समयक्रममा तपाईंहरूले नै काम गर्ने हो ।’

Promise Education Consultancy