छोरी जन्माउने ४८ आमाले पाए प्रोत्साहन भत्ता

 

बैतडी, ५ माघ । बैतडीको दोगडाकेदार गाउँपालिकाले छोरी जन्माउने आमालाई एकहजारका दरले भत्ता दिन शुरु गरेको छ । गाउँपालिकाले उक्त निर्णय गरेसँगै ४८ जना आमाले प्रोत्साहन भत्ता लिएका छन् ।

स्वास्थ्य संस्थामा आएर छोरी जन्माउने ४८ आमालाई नेपाल सरकारले दिँदै आएको संस्थागत सुत्केरी भएकोमा एक हजार र चारपटक गर्भजाँच गराएमा थप ४०० बाहेक गाउँपालिकाले दिएको थप एक हजार प्रोत्साहन भत्ता वितरण गरिसकेको दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य संयोजक नरेन्द्र नाथले बताए । उनले भने, ‘आव २०७४÷७५ को साउनदेखि ४८ जना आमालाई सो रकम वितरण गरिसकेका छौं ।’

गाउँपालिकाको यो निर्णयले दोगडाकेदार गाउँपालिकाका महिला निकै खुशी भएका छन् । छोरा र छोरी भनेर गरिने विभेद अन्त्य गर्ने उद्देश्यले छोरी जन्मिएबापत गाउँपालिकाले प्रोत्साहन भत्ता दिँदा जन्मिएका बालबालिकालाई न्यानो लुगा किन्न सजिलो भएको दोगडाकेदार–६ का रुवसी विकले बताइन् ।

‘पैसा कमै भएपनि गाउँपालिकाले गरेको यो कार्य निकै राम्रो लाग्यो,’ उनले भने ‘दोगडाकेदार गाउँपालिकाले छोरी जन्मिँदा दिने गरेको प्रोत्साहन भत्ताले केही राहत भएको छ ।’

सुत्केरीलाई भक्ता लिने कार्यले महिलालाई राहत हुने गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्कीले बताइन् । उनले भनिन, छोराछोरीमाथि भेदभाव अन्त्यका लागि गाउँपालिकाले पहल थालेको हो,’ हाम्रो समाजमा अझैै पनि छोरा र छोरी भनेर विभेद गरिन्छ, उनले भनिन्, छोराछोरीबीचको विभेद अन्त्य हुने विश्वास लिएका छौं ।’

गर्भावस्थामै छोरी भए गर्भ फाल्ने र भ्रुणहत्यामा कमी ल्याउन गत भदौदेखि प्रोत्साहन दिने निर्णय गरिएको दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताए ।

‘महिलालाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न यस्तो निर्णय गरिएको हो, छोरी जन्माउँदा घरमा पनि नकारात्मक सोचले हेर्ने भएकाले यो स्थितिमा परिवर्तन गर्नु आवश्यक छ,’ उनले भने । छोरी जन्मिँदा आमालाई प्रोत्साहन भत्ता दिने दोगडाकेदार बैतडीकै पहिलो गाउँपालिका हो ।

Promise Education Consultancy