माओवादीमा अन्तर्घातको ‘चाङ’ एमाले उम्मेदवारले समेत दर्ता गराए माओवादी कार्यालयमा उजुरी

काठमाडौं, ५ माघ ।प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा अन्तर्घात गरेको आरोपमा माओवादी केन्द्रले दुई दर्जन नेता छानबिन सुरु गरेको छ। अन्तर्घातकै कारण पराजित भएको भन्दै वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, उर्मिला अर्याललगायतले उजुरी गरेपछि केन्द्रीय कार्यालयमा छानबिन अघि बढाएको हो।

पार्टी नेताहरूकै ‘असहयोग र अन्तर्घात’ ले चुनाव हारेको भन्दै आरोप/प्रत्यारोप हुन थालेपछि केन्द्रीय कार्यालय बैठकले अन्तर्घात छानबिन समिति गठन गरेको थियो। अनुशासन आयोगका संयोजक अमिक शेरचनको नेतृत्वमा गठित समितिमा लीलामणि पोखरेल, गणेश शाह, हितराज पाण्डे र रेखा शर्मा सदस्य छन्। समितिमा करिब २ दर्जन उजुरी परेको एक सदस्यले जानकारी दिए।

तोकेको समयावधिमा परेका उजुरी संकलन भइरहेकाले उजुरीको संख्या अझै बढ्न सक्ने समिति संयोजक शेरचनले जानकारी दिए। ‘कलेक्सनकै चरणमा छौं, ठ्याक्कै यति नै संख्या भनेर भन्न सकिँदैन तर समितिले उजुरी दिन सकिने तोकेको अवधिमा सम्बन्धित जिल्लाको सिफारिसका आधारमा अझै पनि प्रदेश कार्यालय हुँदै उजुरी आउने क्रम जारी छ’, शेरचनले भने।आजको अन्नपूर्णपोष्टमा खबर छ ।

एमाले उम्मेदवारले गरे उजुरी !

समितिमा एमाले उम्मेदवारले समेत उजुरी दर्ता गराएका छन्। रौतहट २ का प्रतिनिधिसभा उम्मेदवार मो. मुस्ताक आलम र सोही निर्वाचन क्षेत्रका प्रदेशसभा (क) का उम्मेदवार शैलेन्द्र शाहले माओवादी ‘अन्तर्घात’ का कारण चुनाव हारेको भन्दै छानबिन गरी कारबाहीको मागसहित उजुरी दर्ता गराएका हुन्।

उक्त क्षेत्रको प्रतिनिधिसभा र प्रदेशसभाका दुवैका उम्मेदवारले संयुक्त हस्ताक्षरसहित माओवादी पूर्वसांसद अशोक जैसवालमाथि कारबाही माग गदै उजुरी दर्ता गरेका हुन्।

अन्तरपार्टी छानबिन अन्योलमा

अन्तरपार्टी अन्तरघातको उजुरी समेत परेपछि छानबिन गर्ने/नगर्ने समिति अन्योलमा छ। रौतहट २ का एमाले उम्मेदवारले माओवादी नेताको अन्तर्घातले हारेको उजुरी दिएपछि छानबिन गर्ने/नगर्नेमा समिति अन्योलमा परेको हो।

समितिले बनाएको कार्यविधि आन्तरिक छानबिनका लागि मात्र भएकाले उजुरी परेको भए छानबिन नहुने सदस्य पोखरेलले बताए। ‘आन्तरिक अन्तर्घात छानबिनका लागि समिति गठन भएको हो’, उनले भने, ‘तर अन्तरपार्टी अन्तर्घात समितिले छानबिन गर्दैन। त्यस्तो उजुरी आएको भए दुई पार्टीका शीर्ष नेताको मूल्यांकनका आधारमा हुन्छ।’ संयोजक शेरचनले भने संकलन भइरहेकाले उजुरी आएको भए के कसरी टुंगो लगाउने समितिभित्र छलफल गरेर ठोस योजना बनाइने बताए। ‘त्यस्तो उजुरी आए नआएको भन्न सक्दैनौं तर आएको रहेछ भने छलफल गरेर निर्णय लिन्छौं,’ उनले भने।

Promise Education Consultancy