प्रमोदको खिचरा महोत्सवमा हंगामा गरेपछि……

 

चितवन, माघ ४ । ‘पाँचौं खिचरा महोत्सव २०७४’ मा आज (विहीबार) चर्चित गायक प्रमोद खरेलले उपस्थित दर्शकहरुलाई भरपुर मनोरञ्जन दिलाएका छन् ।

दिउँसैदेखि पर्खाईमा बसिरहेका दर्शकहरु अपरान्ह सवा ४ बजे प्रमोदको उपस्थितिले माहोल तातेको थियो । ‘माया गर्ने मुटुले निधारले होइन्’ बोलको गीतबाट स्टेज तताउन सुरु गरेका प्रमोदले म बिना कसै कसैलाई मुश्किल छ पोखरामा, हंगामा भो, झुम्कावाली, लाई देउन मायाले, दन्तैमा, चल बतास चल..लगायत बोलका आधा दर्जन बढि गीतबाट दर्शकलाई झुमाए । प्रमोदले हरेक गीत सुरुवात दर्शकहरुले हुटिङका साथ नाच्दै साथ दिएका थिए ।

त्यसअघि नेपाली संगीत क्षेत्रमा उदाउँदो गायक सुरेश लामाले दर्शकहरुलाई मनोरञ्जन दिलाएका थिए । चलचत्रि जोनी जेन्टलम्यानको जब जब तिम्रो साथ मिल्दै मिल्दै गयो…बोलको गीतबाट एकाएक चर्चामा आएका लामाले महोत्सवमा सोही गीतबाट आफ्नो प्रस्तुतीबाट सुरुवात गरेका थिए । उनले अन्य चलचित्रका आधा दर्जन गीत गाउँदै महोत्सवका दर्शकहरुलाई झुमाए । खैरहनीबासी समेत रहेका गायक लामा चितवन आईडलका फस्ट रनरअप थिए ।

यस्तै आज थारु नृत्यसंगै आस्था कला केन्द्रकोसाँस्कृतिक प्रस्तुतीले दर्शक झुमेका थिए । महोत्सव अन्तरगत भोली (शुक्रबार) चर्चित गायक रमेशराज भट्टराई, गायिका सम्झना भण्डारी, गायक रोशन रत्गैया, नरेश जोगीको जोडदार प्रस्तुती रहनेछ भने जिके डान्सको साँस्कृतिक प्रस्तुतीसंगै थारु कल्चर नृत्य समेत प्रस्तुत गरिने साँस्कृतिक समितिका संयोजक जयश चौधरीले जानकारी दिए ।

यस्तै भोलीको कार्यक्रम मिस नेपाल इन्टरनेशनल २०१६ वर्षा लेखीले संचालन गर्दैहुनुहुन्छ ।

“राष्ट्रिय एकता र विविधता हाम्रो शान बहुजाति, भाषा, सँस्कृति नेपालको पहिचान” भन्ने नारासहित जारी खिचरा महोत्सव माघ ८ गतेसम्म खैरहनी नगरपालिका–५ स्थित जनकौली गौचरनमा चल्नेछ । थारु कल्याणकारिणी सभा क्षेत्र नं.७ ले थारु सँस्कृतिको संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यले आयोजना गरेको महोत्सवमा प्रतियोगितात्मक थारु साँस्कृतिक घरेलु हस्तकला प्रदर्शनी राखिएको छ ।

महोत्सवमा २ सय बढि स्टलहरु रहेका छन् । महोत्सवमा आउने दर्शकहरुको टिकटमा ३५ हजार रुपैयाँ बराबरको बम्पर उपहार स्वरुप पलङ राखिएको छ भने प्रत्येक ५० रुपैयाँको टिकटमा २५ रुपैयाँ बराबरको एक थान पल्पी जुस उपहारको व्यवस्था गरिएको प्रचार–प्रसार समितिका संयोजक कारी महतोले जानकारी दिनुभयो ।

महोत्सवमा आकर्षणको रुपमा थारु जतिको मूख्य खानाको परिकार मध्येको ‘घोङघी’ र ‘चिचर’को ५ फिटको विशाल मूर्ती प्रदर्शनमा राखिएको छ । महोत्सवमा २ लाख दर्शकले अवलोकन गर्ने आयोजकले लक्ष्य लिएको छ भने करिव १० करोडको कारोबार हुने अपेक्षा गरिएको छ ।

Promise Education Consultancy