रत्ननगर महोत्सव आठ दिनमै लक्ष्य नजिक

रत्ननगर ०४ माघ । रत्ननगरको टिकौलीमा जारी रत्ननगर महोत्सवमा दर्शकको चाप बढेको छ । दिनप्रतिदिन बढदै गएको दर्शकको चापका कारण आठ दिनमै महोत्सव लक्ष्य नजिक पुगेको छ । महोत्सवको आठ दिन सम्म करिव ४ लाख दर्शकले महोत्सव अबलोकन गरेको र लक्ष्य अनुसार नै कारोबार भएको संघका अध्यक्ष एवम् मुल समारोह समितिका संयोजक राजाराम रेग्मीले जानकारी दिए । संयोजक रेग्मीले व्यवसायिक स्टलहरुमा देखिएको दर्शकको भीडका कारण कारोबार पनि उत्सहाजनक रुपमा भईरहेको बताए । महोत्सव स्थलमा निर्माण गरिएको धरहराका कारण पनि यस पटक रत्ननगर महोत्सव अबलोकन गर्नेको चाप बढेको हो । काठमाडौंको सुन्धारामा रहेको धरहरा २०७२ सालमा भूकम्पले भत्काएपछि नेपालीको मनमनमा रहेको एतिहासिक धरहराको झल्को भेटाउन दर्शकहरु आउने गरेको संयोजक रेग्मीले बताए । महोत्सव अबलोन गर्न आएका अधिकाँस दर्शकहरु धरहरा चढेर र सेल्फी खिचेर फर्कने गरेको उनले जानकारी दिए । रत्ननगर महोत्सवमा यस बर्ष कृषि र पशुपालन व्यवसायलाई प्राथमिकता दिईएको छ । कृषि उत्पादन बढाउन र बजारीकरणको लागि प्रतियोगितात्कम कृषि उपज प्रर्दशनी राखिएको कृषि प्रर्बद्धन समितिका संयोजक इश्वरी प्रसाद अर्यालले जानकारी दिए । महोत्सवमा कृषि र पशुपालनको छुट्टै परिसर निर्माण गरिएको छ । पशुपालन परिसरमा घाँस खेती,पशुमा लाग्ने रोग,उत्पादन बढाउन गर्नुपर्ने काम र पोल्टी क्षेत्रको लागि कुखुरा पालनमा देखिएका समस्या र सामधान,पोल्ट्री उत्पादन र बजारीकरणका बारेमा सन्देश मुलक सामाग्री राखिएका संघका कार्यसमिति सदस्य तथा पशुपंछी प्रर्बद्धन समितिका संयोजक पुरु खनालले जानकारी दिए । महोत्सव अन्तर्गत स्वर्गीय जगतकृष्ण प्रजापतिको स्मृतिमा विद्यालय स्तरीय खुल्ला नृत्य प्रतियोगिता गरिएको छ । प्रतियोगितामा एन्जलर्स वल्र्ड आमावि प्रथम,चितवन इङलीस बोडिङ स्कुल द्धितीय,जुटपानी एकाडेमी तृतीय र मदरल्याण्ड बोडिङ स्कुल सान्त्वना भएको संघका महासचिव निराजन खनालले जानकारी दिए । महोत्सवको साँस्कृति कार्यक्रम अन्तर्गत विहीवार गायक एड्रिन प्रधान,मिलन लामा,जादुगर बलराम गिरी सहित रत्ननगर कला मन्दिरका कलाकारहरुले प्रस्तुति देखाएका थिए । महोत्सवको नवौं दिन शुक्रवार चर्चित गायक प्रमोद खरेल,भूवन प्यासी लगायतका कलाकारहरुको प्रस्तुति रहने छ ।

Promise Education Consultancy