चितवनमा घरेलु हिंसाको घटना वृद्धि

आनन्द पोखरेल
चितवन, ४ माघ । चितवनमा पछिल्लो समय घरेलु हिंसाको घटनामा वृद्धि भएको तथ्यांकले देखाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनको महिला तथा बालबालिका सेवा केन्द्रमा परेको निवेदन अनुसार मंसिर महिनाको तुलनामा पुस महिनामा घरेलु हिंसा बढेको देखिएको हो । महिला सेवा केन्द्रमा मंसिर महिनामा १७ वटा मात्रै घरेलु हिंसाका निवेदन परेकोमा पुस महिनामा २६ वटा निवेदन दर्ता भएका छन् । महिला तथा बालबालिका सेवा केन्द्र प्रमुख प्रहरी निरीक्षक अन्जना श्रेष्ठका अनुसार चितवनमा पुस महिनामा सेवा केन्द्रमा ९० वटा उजुरीहरु परेकोमा २० वटा घरेलु हिंसाका घटनाहरु मिलापत्र गरिएको छ ।

पुस महिनामा मात्रै ५० जना मानिस हराएको निवेदन परेको श्रेष्ठले जानकारी दिइन् । चितवनबाट गत महिनामा ३५ जना महिला, छ जना बालिका र आठ जना पुरुष हराएको निवेदन परेकोमा छ जना बालिका, २५ जना महिला र पाँच जना पुरुष मात्रै भेटिएको श्रेष्ठले बताइन् । त्यस्तै माघ महिनामा विभिन्न ठाउँबाट दुई जना बालक, छ जना बालिका र दुई जना महिलालाई प्रहरीले उद्धार गरेको छ ।

Promise Education Consultancy