सोनाम ल्होसार विभिन्न कार्यक्रम गरी मनाईंदै

चितवन, माघ ४ । तामाङ समुदायले आज सोनाम ल्होसार पर्व मनाउँदै छन्। माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ।

मञ्जुश्री पात्रोअनुसार आजदेखि चरा वर्ष पूरा गरी कुकुर वर्ष प्रवेश हुन्छ। प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ।

मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको बौद्धनाथ क्षेत्र विकास समितिका पूर्वअध्यक्ष एवं तामाङ समुदायको चाड पर्वका विषयमा खोज अनुसन्धानमा सक्रिय सम्पूर्णकुमार लामाले जानकारी दिए।

ल्होसारका १२ वटै वर्ष पशुपक्षीको नामबाट गणना गरिएकाले तामाङ समुदाय प्रकृतिपूजक रहेको अर्का अनुसन्धानकर्ता टीका शेर्पाले बताए।

ल्होसाको अबसरमा नेपाल तामाङ घेदुङलगायत संस्थाले आज राजधानीमा विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गर्दैछन्। सोनाम ल्होसार महोत्सवमा तामाङ खाना, वेषभूषा, कला संस्कृतिलगायतको प्रदर्शन गरिने घेदुङले जनाएको छ।

ल्होसारको अबसरमा सरकारले आज सार्वजनिक विदा दिएको छ।

तर यस वर्षको सोनाम ल्होछारको तिथिको विषयमा तामाङ समुदायमा विवाद भएको छ।

नेपाल राष्ट्रिय तामाङ घेदुङले आज र नेपाल तामाङ घेदुङले फागुन ४ गते पर्व मनाउने फरकफरक तिथि घोषणा गरेपछि विवाद भएको हो।

दुई संस्थाबीच विवाद बढेपछि आज राजधानीको टुँडिखेलमा प्रधानमन्त्री शेरबहादुर देउवाबाट उद्घाटन हुने भनिएको ‘२८५४ औं खि–ल्हो (कुकुर वर्ग) सोनाम ल्होछार’ नहुने भएको छ।

तामाङ समुदायका दुई संस्थाबीच विवाद भएपछि सेनाले टुँडिखेलमा ठाउँ उपलब्ध नगराएको बताइएको छ। टुँडिखेलमा हुने भनिएको महोत्सव प्रदर्शनी मार्गमा सारिएको नेपाल राष्ट्रिय तामाङ घेदुङका कार्यवाहक महासचिव प्रवीणकुमार बलले बताएका छन्।

नेपाल पञ्चाङ्ग निर्णायक समितिअन्तर्गत निर्मित पात्रोमा सोनाम ल्होछार यो वर्ष माघ ४ गते र फागुन ४ गते ग्याल्बो ल्होछार उल्लेख छ।

Promise Education Consultancy