मोहन बैद्यले माओवादी घटकहरुसँग एकता गर्ने

काठमाडाै‌ माघ ४ । नेकपा (क्रान्तिकारी माओवादी) ले विभिन्न समूहमा विभाजित भएका माओवादीका घटकहरुसँग पार्टी एकता गर्न वार्ता टोली बनाउने निर्णय गरेको छ।

मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओवादीको सोमबार र मंगलबार बसेको स्थायी समितिको बैठकले पार्टी एकता र कार्यगत एकतालाई अघि बढाउने निर्णय गरेको हो।

बैठकपछि महासचिव मोहन वैद्यले जारी गरेको प्रेस विज्ञप्तिमा नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवाद हुँदै साम्यवादतर्फ अगाडि बढ्ने नीति, कार्यक्रम तथा उद्देश्य अवलम्बन गरेका क्रान्तिकारी कम्युनिस्ट समूह तथा व्यक्तित्वहरुलाई एकताबद्ध गर्नु आजको ऐतिहासिक आवश्यकता भएको उल्लेख छ।

बैद्यले विप्लव नेतृत्वको नेकपा, मोहनविक्रम सिंह नेतृत्वको नेकपा (मसाल) तथा ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहितका संगठन र विभिन्न ठाउँमा छरिएर रहेका क्रान्तिकारी कम्युनिस्टहरुसित पार्टी एकताका लागि आधार तयार पार्न वार्ता टोली बनाई ठोस पहल गर्ने निर्णय भएको बताए।

‘ती पार्टीहरुसित राष्ट्रियता, जनतन्त्र तथा जनजीविका लगायतका ठोस विषयमा कार्यगत एकता गरी संयुक्त रूपमा संघर्षमा जानका लागि आवश्यक तयारी गर्ने निर्णय भएको छ,’ महासचिव वैद्यले भने।

यसैबीच हालै वीरगञ्ज महानगरपालिकाको छपकैयामा ५० औँ बिघा नेपाली जमिन मिचेर सीमास्तम्भ सारिएकोप्रति माओवादीले भत्सर्ना गर्दै यसबारे तुरुन्तै कदम चाल्न क्रान्तिकारी माओवादीले सरकारसित माग पनि गरेको छ।

Promise Education Consultancy