गैंडाकोट तेकवान्दो डोजाङ पहिलो

चितवन, ३ माघ । चितवनको भरतपुरमा सम्पन्न १०औँ जिल्लास्तरीय तेकवान्दो प्रतियोगिताको उपाधि गैंडाकोट तेकवान्दो डोजाङले जितेको छ । आठ वटा स्वर्णपदक सहित नवलपुरको गैंडाकोट तेकवान्दो डोजाङ पहिलो भएको हो ।
त्यस्तै, सात वटा स्वर्ण पदकसहित चितवनको अमेलिया तेकवान्दो डोजाङ दोस्रो र नवलपुरकै अरुणखोला तेकवान्दो डोजाङ तेस्रो भएको छ । प्रतियोगितामा बेस्ट प्लेयरको उपाधि अरुणखोला तेकवान्दो डोजाङका ५४ केजी समूह तर्फका खेलाडी विशाल दर्लामीले हात पारेका आयोजक राष्ट्रिय तेकवान्दो संघ चितवनका अध्यक्ष विकास श्रेष्ठले जानकारी दिए ।
प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने डोजाङ तथा बेस्ट प्लेयरलाई ट्रफी प्रदान गरिएको थियो भने विजयी खेलाडीलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा नवलपुरका छ वटा डोजाङ र चितवनका २१ वटा डोजाङका गरि दुई सय भन्दा बढी खेलाडीहरु सहभागी भएका थिए । प्रतियोगितामा महिला तर्फ २० केजी तौल समूहदेखि ५३ केजी तौल समूहसम्म र पुरुष तर्फ २० केजी तौल समूहदेखि ५८ केजी तौल समूहसम्म प्रतिस्पर्धा गराइएको श्रेष्ठले बताए ।
प्रतियोगिताको समापन सत्रमा भरतपुुर महानगरपालिका वडा नम्बर ९ का अध्यक्ष यमलाल कंडेल प्रमुख अतिथि रहेका थिए ।

Promise Education Consultancy