चितवनका उम्मेदवारले पत्याउन नसक्ने खर्च विवरण बुझाए

चितवन, ३ माघ ।  प्रतिनिधि तथा प्रदेशसभाका उम्मेदवारहरुले जिल्ला निर्वाचन कार्यालय भरतपुरमा बुझाएको खर्च विवरण जोकोहीलाई पत्याउन मुस्किल पर्छ । जनताले पत्याउनै नसक्ने खर्च विवरण उम्मेदवारहरुले बुझाएका छन् ।

निर्वाचन आयोगले तोकेको भन्दा पनि ज्यादै कम खर्च विवरण उम्मेदवारहरुले बुझाएका छन् । चितवन जिल्लामा तीन वटा क्षेत्र छन् । सबैभन्दा बढी खर्च भएको क्षेत्र नम्बर ३ मा देखिन्छ । यस क्षेत्रमा वाम गठबन्धनबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र लोकतान्त्रिक गठबन्धनबाट राप्रपा (प्रजातान्त्रिक) का उपाध्यक्ष विक्रम पाण्डे उम्मेदवार बनेका थिए । दुवै उम्मेदवारको प्रचार शैली खर्चिलो थियो, जुन अहिले बुझाएको विवरणले चुनावको खर्च धान्न सक्ने अवस्था देखिदैन ।

प्रचण्ड र पाण्डेले बुझाएको खर्च विवरणमा १० लाख पनि नाघेको छैन । निर्वाचन कार्यालयमा पुष्पकमल दाहालले आफ्ना प्रतिनिधिमार्फत ९ लाख ९४ हजार ५४२ रूपैयाँ खर्च भएको विवरण बुझाएका छन् । दाहाल यस क्षेत्रबाट विजयी भएका उम्मेदवार हुन् । उनका निकटतम प्रतिद्वन्द्वी विक्रम पाण्डेले ९ लाख ३९ हजार ९४० रुपैयाँ खर्च विवरण बुझाएका छन् ।

‘बुझाइएको खर्च विवरण पत्याउन सक्ने अवस्था छैन, प्रचारशैली हेर्दा बुझाइएको खर्चको विवरणले धान्नै सक्दैन’ एक स्थानीय नेताले भने, ‘आयोगमा बुझाउने खर्च विवरण कसैले पत्याउँदैनन् । यो त देखाउने दाँत मात्र हो ।’

निर्वाचन कार्यालय प्रमुख हरि ढकालले उम्मेदवारले बुझाएको खर्च विवरण नै आयोगमा पठाइने बताए । उनले भने, ‘खर्च विवरणमा शंका लागे पछि आयोगले सुक्ष्म अनुगमन गर्न सक्छ ।’

‘निर्वाचन आयोगले प्रतिनिधिसभाका उम्मेदवारको अधिकतम खर्च विवरण २५ लाख तोकेको छ । त्यसैले सबै उम्मेदवारले २५ लाखभन्दा तल नै खर्च विवरण बुझाउने उनले बताए ।

चितवन क्षेत्र नम्बर २ मा पनि चुनावको समयमा धेरै नै खर्च भएको देखिन्थ्यो, तर यहाँ पनि खर्चको विवरण बुझाउनेहरुले १५ लाख कटाएनन् । विजयी भएका वाम गठबन्धनका उम्मेदवार कृष्णभक्त पोख्रेलले १४ लाख ३९ हजार ८०० खर्च विवरण बुझाए । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका शेषनाथ अधिकारीले १३ लाख ९३ हजार खर्च विवरण पेस गरे ।

सबैभन्दा धेरै खर्च विवरण बुझाउने उम्मेदवारमा पर्छन् राजेन्द्र बुर्लाकोटी । उनी चितवन क्षेत्र नम्बर १ बाट लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका थिए । निर्वाचन कार्यालयमा उनले १६ लाख २९ हजार १७० रूपैयाँ खर्च विवरण बुझाएका छन् । यस क्षेत्रबाट विजयी भएका सुरेन्द्र पाण्डेले १३ लाख ५७ हजार ६७३ रुपैयाँ खर्च विवरण बुझाएका छन् ।
२९ जनाले बुझाएनन्

चितवन जिल्लाबाट प्रदेश तथा प्रतिनिधिसभामा जम्माजम्मी ९५ जना उम्मेदवार बनेका थिए । ९५ उम्मेदवारमध्ये अझै २९ जना उम्मेदवारले चुनावको खर्च विवरण बुझाएका छैनन् । प्रतिनिधितर्फ १६ जना उम्मेदवारले खर्च विवरण बुझाएका छैनन् भने प्रदेशतर्फ १३ जनाले खर्च विवरण बुझाएका छैनन् ।

‘आयोगले तोकेको समय सकियो । पुसको मसान्तभित्र खर्च विवरण बुझाउनुपर्ने हो तर अझै २९ जनाले खर्च विवरण बुझाएका छैनन्’ निर्वाचन कार्यालयका सूचना अधिकारी भीमप्रसाद ढकालले भने, ‘ताकेता गरिरहेका छौँ, तर बुझाउन किन नआएका हुन् थाहा छैन ।’आजको चितवन पोष्टमा खबर छ।

Promise Education Consultancy