चितवनमा भयाबह बन्दै सडक दुर्घटना, ६ महिनामा ५५ जनाको मृत्यु

चितवन, ३ माघ ।  चितवनमा सवारी दुर्घटनामा परी ६ महिनाको अवधिमा ५५ जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक गरिएको छ ।
जिल्ला ट्राफिक कार्यालय भरतपुरले साउनदेखि पुस मसान्तसम्म सडक दुर्घटनामा परी ५५ जनाको ज्यान गएको जानकारी दिएको हो । रत्ननगरको टिकौलीमा जारी रत्ननगर महोत्सवअन्तर्गत मंगलबार रत्ननगरमा आयोजना गरिएको सडक सचेतनासम्बन्धी प्रशिक्षण कार्यक्रममा जिल्ला ट्राफिक कार्यालय भरतपुरका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तले चितवनमा ६ महिनामा १०० वटा सवारी दुर्घटना भएको र सोही दुर्घटनामा परी ५५ जनाले ज्यान गुमाएको जानकारी दिए ।आजको चितवनपोष्टमा खबर छ।
पुस महिनामा मात्र सवारी दुर्घटनामा परी पाँच जनाको ज्यान गएको पन्तले जानकारी दिए । मृत्यु भएका मध्ये २९ प्रतिशत मान्छेको नारायणगढ–मुग्लिन सडकखण्डमा भएको दुर्घटनाले भएको उनले जानकारी दिए । आर्थिक वर्ष २०७३÷०७४ मा चितवनमा १६३ जनाको सवारी दुर्घटनाकै कारण मृत्यु भएको पन्तले बताए । सो आर्थिक वर्षमा २५८ वटा सडक दुर्घटना भएको र सोही दुर्घटनामा परी १६३ जनाको मृत्यु भएको उनले बताए ।
नेपालमा सरदर दैनिक चार जनाको सवारी दुर्घटनाकै कारण मृत्यु हुने गरेको छ । जिल्लामा भएका अधिकांश दुर्घटना सवारी साधनको तीव्र गतिका कारण हुने गरेको पाइएको प्रहरी निरीक्षक पन्तले बताए । सवारी चालकले १० प्रतिशत गति घटाउने हो भने ३८ प्रतिशत मृत्यु रोक्न सक्ने सम्भावना देखिएको उनले बताए । अहिलेको अनुपातभन्दा सवारी सधनको गति १० प्रतिशत बढ्यो भने ५४ प्रतिशत मृत्यु बढ्ने पन्तले बताए ।
चालकले मादक प्रदार्थ सेवन, थकान र निद्रा, तनाव, उत्तेजना, भावुक अवस्था, सडकको दूरा अवस्था र पुराना सवारी साधनका कारण जिल्लामा सवारी दुर्घटना बढेको उनले बताए । सात लाख जनसंख्या रहेको चितवनमा एक लाख ४८ हजार सवारी साधनको चाप रहेको पन्तले बताए । जिल्लामा सडक दुर्घटना बढ्दै गएको भए पनि दुर्घटना न्यूनीकरणको लागि ट्राफिक प्रहरीमा जनशक्ति अभाव रहेको पन्तले बताए ।
जिल्ला ट्राफिक कार्यालय भरतपुरको मातहतमा ४९ जना मात्र ट्राफिक प्रहरीहरु रहेका छन् । ४९ जनाले मुग्लिनदेखि लोथर र माडीसम्म पुग्नुपर्ने बाध्यकारी अवस्थाका कारण समस्या भएको पन्तले बताए । उनले सवारी साधन कति किलोमिटर गुड्यो भन्ने चेक गर्ने यन्त्रसमेत सरकारले उपलब्ध गराउन नसकेको गुनासो गरे ।
सडक दुर्घटनाको अवस्था र न्यूनीकरणको लागि अध्ययन गरिरहेका नेपाल अटो मोबाइल्स एशोसियसनका केन्द्रीय महासचिव गोविन्द्र भट्टराईले नारायणगढ–मुग्लिन सडकखण्डमा खास गरी बिहानको समयमा सवारी दुर्घटना हुने गरेको बताए ।
राति १ बजेदेखि बिहान ५ बजेको बीचमा यो सडकखण्डमा सवारी दुर्घटना हुने गरेको भन्दै उनले यसको न्यूनीकरणको लागि चालक सचेत हुन जरुरी रहेको बताए । सो सडकका ८२ प्रतिशत दुर्घटना बिहानको समयमा हुने गरेको जानकारी दिए । उनले सडकको दूरा अवस्था र अत्यधिक सवारी साधनको आयतका कारण पनि नेपालमा सडक दुर्घटना बढेको बताए ।
रत्ननगर उद्योग वाणिज्य संघको आयोजना तथा जिल्ला ट्राफिक कार्यालय भरतपुरको सहयोगमा भएको सो कार्यक्रममा यातायात व्यवसायी, चालक, सहचालकहरुको सहभागिता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले ६० प्रतिशत दुर्घटना सवारी नियम पालना नगरेका कारण हुने गरेको बताए । चालकको असंयता र सवारीचापका कारण पनि दुर्घटनाको कारण हुने गरेको उनको भनाइ छ ।
कार्यक्रममा संघका अध्यक्ष तथा रत्ननगर महोत्सवका संयोजक राजाराम रेग्मीले साघुँरो सडक र जहा पायो त्यहीबाट सडक क्रस गर्ने प्रवृतिका कारण दुर्घटना न्यूनीकरणमा चुनौती देखिएको बताए । कार्यक्रममा जिल्ला ट्राफिक कार्यालय भरतपुरका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तले सडक दुर्घटना न्यूनीकरण र नेपाल अटो मोबाइल्स एशोसियसनका केन्द्रीय महासचिव गोविन्द भट्टराईले नेपालमा सडक दुर्घटनाको अवस्था, त्यसको न्यूनीकरणका बारेमा सहजीकरण गरेका थिए । कार्यक्रम संघका उपाध्यक्ष एवम् गोष्ठी तथा सेमिनार समितिका संयोजक शंकर गिरीको अध्यक्षतामा भएको थियो । मनोरञ्जन, छलफल र अन्तक्र्रिया हरेक दिन सँगसँगै चलिरहेकोले पनि रत्ननगर महोत्सवमा दर्शकको भीड बढ्दै गएको छ ।

Promise Education Consultancy