नेपाली डाक्टरको चमत्कारिक, पत्ता लगाए ‘इबोला’ को औषधि

बागलुङ, ३ माघ । बागलुङका एक डाक्टरले अमेरिकामा चामत्कारिक सफलता प्राप्त गरेका छन् । आजको अन्नपूर्णपोष्टमा खबर छ। अमेरिकाको जर्जिया राज्यस्थित इन्स्टिच्युट फर बायोमेडिकल साइन्स विश्वविद्यालयमा कार्यरत डा.सुदीप खड्कासहित ११ वैज्ञानिकको टोलीले विश्वमै खतरनाक मानिएको इबोला भाइरसको औषधि पत्ता लगाएको शोधपत्र प्रतिष्ठित ‘एन्टिभाइरल रिसर्च’ जर्नलमा प्रकाशित छ । टोलीमा नेपाली डा.खड्काबाहेक बाँकी सदस्य अन्य मुलुकका छन् ।

दुई लाख वटा औषधिको अनुसन्धानबाट तीन वर्ष लगाएर ५६ सम्भावित औषधि पत्ता लागेको डा.खड्काले बताए । तीमध्ये एउटा बेन्जोक्विन अनलाइन (दभलशयत्रगष्लयष्लिभ) समूहको औषधिको विस्तृत अध्ययन भएको छ ।

‘अन्य भाइरसको भन्दा इबोला भाइरसको औषधि खोज अध्ययन १० गुणा बढी चुनौतीपूर्ण थियो तर हाम्रो टिम अध्ययनमा सफल भएको छ । थप औषधि पनि विकासकै क्रममा छन्’, उनले टेलिफोनमा भने, ‘यो औषधि हालै संसारमा भयभीत बनाइरहेको अर्को जीका भाइरसविरुद्ध पनि प्रभावकारी देखिएको छ ।’

यो प्रारम्भिक अनुसन्धानले चाँडै इबोला र जीकाको उपचार हुन सक्ने सम्भावना बढेको छ । तर, बजारमा आउनुभन्दा पहिले यो औषधिको प्रयोग गर्ने विधि, औषधिको मात्रा र साइड इफेक्टबारे थप अनुसन्धान सुरु भएको छ । उनका अनुसार यो प्रक्रिया सकिएर इबोलाको औषधि सर्वसुलभ हुन अझै केही वर्ष लाग्नेछ ।

यो आविष्कारले फेरि इबोलाको महामारी फैलियो भने त्यसको रोकथाममा महत्वपूर्ण योगदान पु¥याउने विश्वास अनुसन्धानमा संलग्न वैज्ञानिक टोलीले लिएको छ ।

संसारकै खतरनाक रोग मानिने इबोलाको हालसम्म कुनै औषधि छैन । अत्यन्तै चाँडो सर्ने यो रोगले केही दिनमै महामारीको रूप लिन सक्छ ।

थुप्रै स्वास्थ्यकर्मीको समेत बिरामीको उपचार गर्ने क्रममा यो रोग सरेर मृत्यु भएको छ । त्यसैले यो रोग लागिहालेमा उपचार गर्नसमेत कोही स्वास्थ्यकर्मी अगाडि सर्दैनन् ।

Promise Education Consultancy