जताततै मन्त्रीको ठाडो नियुक्ति

काठमाडौ, १ माघ । भूमिसुधार तथा व्यवस्थामन्त्री गोपाल दहितले विज्ञलाई नियुक्त गर्नुपर्ने प्रावधान लत्याउँदै कार्यकर्ता पोस्न ३२ जिल्लामा बसोवास व्यवस्थापन समिति अध्यक्ष नियुक्त गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी गरेका छन्।

मन्त्री दहितले ठाडो प्रस्तावकै आधारमा नियमविपरीत गुठी संस्थान अध्यक्षमा योग्यता र दक्षता नै नपुगेका आफ्नै स्वकीय सचिव मिनराज चौधरीलाई नियुक्ति दिलाएका छन् भने गुठी संस्थानकै प्रशासकमा नारायण चौधरीलाई निरन्तरता दिएका छन्। यी दुवै निर्णय मन्त्री दहितको ठाडो प्रस्तावमा गत शुक्रबारको मन्त्रिपरिषद् बैठकले गरेको हो।

सरकारले केही समयअघि मात्रै गुठी संस्थानले गर्ने काम स्थानीय तहमा गएकाले संस्थान खारेजीको गृहकार्य अघि बढाएको थियो तर मन्त्री दहितले अघिल्लो सरकारले खारेजीको प्रक्रिया थालेको गुठी संस्थान अध्यक्षमा आफ्नै स्वकीय सचिवलाई तीन वर्षका लागि नियुक्ति दिलाएका हुन्।

तराईका सबै र पहाडका सिन्धुपाल्चोक, काभ्रे, उदयपुर, सिन्धुली, डडेल्धुरा लगायतका ३२ जिल्लामा समितिका अध्यक्ष नियुक्त गर्ने प्रक्रिया थालेपछि मन्त्रीकहाँ धाउनेको संख्या बढेको छ।

कानुनतः जग्गा प्रशासन सम्बन्धमा दक्खल राख्ने व्यक्तिलाई अध्यक्ष बनाउनुपर्ने प्रावधान भए पनि जग्गासम्बन्धी कुनै जानकारी नै नभएका व्यक्तिलाई नियुक्तिको गृहकार्य थालिएको छ।

यस विषयमा जानकारी लिन आइतबार मन्त्रालयमा जाँदा मन्त्री दहित बोल्न चाहेनन्। अन्नपूर्णकर्मीलाई देख्नासाथ ‘अहिले समय छैन, पछि कुरा गरौंला’ भन्दै उनी बाहिरिएका थिए। ‘अहिले मलाई फुर्सद छैन, यस्ता कुरा नसोध्नुस्, पछि कुरा गरौंला’, उनले भने।आजको अन्नपूर्णपोष्टमा खबर छ ।