चिसोले भूकम्पपीडित धमाधम, बिरामीऔषधिमुलो गर्न ऋण खोज्दै हैरान

बनेपा, १ माघ । भूकम्पको तीन वर्ष बितिसक्दा पनि आवास निर्माण गर्न नसकी टहरामै बस्न बाध्य भूकम्पपीडित चिसो बढेसँगै बिरामी पर्न थालेका छन्। तीन हिउँद टहरामै काटेका पीडित शीत र चिसोले बिरामी पर्नुका साथै विभिन्न समस्यामा परिरहेका हुन्।आजको अन्नपूर्णपोष्टमा खबर छ ।

त्रिपाल र टिनका अस्थाई टहरामा बसिरहेका भूकम्पपीडित चिसो बढेसँगै निमोनिया, रुखाखोकी, ज्वरो, आउँ, दम र शरीर सुन्निनेलगायत समस्याबाट ग्रसित हुन थालेका छन्। चिसो बढेसँगै वृद्धवृद्धा, बालबालिका, सुत्केरी र रोगीहरू बढी प्रभावित हुँदै गएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका डा. सुरेस चौरसिया बताउँछन्। उनले भने, ‘टहरामा बसेका अधिकांश पीडित चिसोले समस्यामा पर्दै आएका छन्, विषेशगरी दम भएका, सुत्केरी, बालबालिका र वृद्ध चिसो बढेसँगै समस्यामा परेका छन्।’

भूकम्पपीडितहरू समयमै अनुदान रकम र सहुलियत ऋण नपाउँदा आवास पुनर्निर्माण गन नसकेको गुनासो गर्छन्। ‘सरकारले न समयमा अनुदान दियो न सहुलियत ऋण नै, सबै कुरा मात्र भयो’, पनौती नगरपालिका-१२ की राममाया हुमगाई भन्छिन्, ‘भएको सम्पत्ति सबै घरसँगै स्वाहा भयो, न घर बनाउन सकियो न सरकारको अनुदान र ऋण नै पाइयो।’ उनले वर्खा जसोतसो काटे पनि जाडो लागेसँगै छाप्राभित्र ओच्छ्यानमा शीत चुहिने र जस्ताको चिसोले साना बालबच्चा र वृद्ध सासुससुरा बिरामी पर्न थालेको बताइन्। ‘उपचार गर्ने पैसा छैन’, उनले दुखेसो पोख्दै भनिन्। पहिलो किस्ताले घरको डीपीसी सकेर दोस्रो किस्ताका लागि बारम्बार ताकेता गरे पनि दुई महिना बित्दासमेत पाउन नसकेको गुनासो गरिन्।

खानीखोला गाउँपालिकाकी ६३ वर्षीया कान्छीमाया तामाङ पनि टहराको चिसोले निमोनिया भएको गुनासो गर्छिन्। ‘गरिब छौं, न आफैं नयाँ बनाउन सक्छौं न सरकारी अनुदान र ऋण पाउँछौ। हामी त मर्नु न बाँच्नु भएका छौं’, उनले भनिन्, ‘छोराछोरी र पतिको आम्दानी केही छैन, नातिनातिना पनि बिरामी पर्न थाले। अहिले घर बनाउन पैसा जुटाउनुभन्दा पनि औषधिमुलो गर्न ऋण खोज्दै हैरान छौं।’