खिचरा महोत्सव तेस्रो दिन स्थानीय कलाकारको दमदार प्रस्तुती

 

चितवन, पुस ३० ।  थारु समुदायहरुको महान् चाड माघी (खिचरा)को अवसरमा आयोजिते ‘पाँचौं खिचरा महोत्सव २०७४’ मा आज दर्शकहरु सांगीतिक माहोलमा झुमेका छन् ।

नेपाल आईडल प्रतिस्पर्धामा सहभागिता जनाएकी चितवनकी गायिका एलिना सापकोटा, गायक विज्ञान न्यौपानेले सांगीतिक माहोलले झुमाए भने रत्ननगर कलामन्दि, डार्क ऐकेडेमी र थारु कल्चरको साँस्कृतिक प्रस्तुतीमा दर्शकहरु झुमेका थिए ।

नेपाल आईडलमा सहभागिता जनाएकी गायिका सापकोटाले आफूले भर्खर बजारमा ल्याएकी ‘धेरै धेरै तिमिलाई..’चौबन्दीमा पटुकी बाधी…लगायतका बोलको गीत प्रस्तुत गरिन् । यस्तै महोत्सवमा जादुगर बलराम सरकार, हास्यकलाकार भविष्य तिवारीलगायतको प्रस्तुती रहेको थियो ।

महोत्सवको चौथो दिन भोली (सोमबार) चर्चित गायिका मिलन आमत्य, गायक मनोज महतो, नेपाली चलचित्र ‘लालपुर्जा’का कलाकार सौगात मल्ल र विपिन कार्कीको उपस्थिति रहने छ भने थारु कल्चरका साथै रत्ननगर डान्स ऐकेडेमी र डार्क ऐकेडेमीलगायतको साँस्कृतिक प्रस्तुती रहने साँस्कृतिक समितिका संयोजक जयश चौधरीले जानकारी दिए ।

“राष्ट्रिय एकता र विविधता हाम्रो शान बहुजाति, भाषा, सँस्कृति नेपालको पहिचान” भन्ने नारासहित सुरु भएको खिचरा महोत्सव माघ ८ गतेसम्म खैरहनी नगरपालिका–५ स्थित जनकौली गौचरनमा चल्नेछ ।

थारु कल्याणकारिणी सभा क्षेत्र नं.७ ले थारु सँस्कृतिको संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यले आयोजना गरेको महोत्सवमा प्रतियोगितात्मक थारु साँस्कृतिक घरेलु हस्तकला प्रदर्शनी राखिएको छ । महोत्सवमा २ सय बढि स्टलहरु रहेका छन् ।

महोत्सवमा आउने दर्शकहरुको टिकटमा ३५ हजार रुपैयाँ बराबरको बम्पर उपहार स्वरुप पलङ राखिएको छ भने प्रत्येक ५० रुपैयाँको टिकटमा २५ रुपैयाँ बराबरको एक थान पल्पी जुस उपहारको व्यवस्था गरिएको प्रचार–प्रसार समितिका संयोजक कारी महतोले जानकारी दिनुभयो ।

महोत्सवमा आकर्षणको रुपमा थारु जतिको मूख्य खानाको परिकार मध्येको ‘घोङघी’ र ‘चिचर’को ५ फिटको विशाल मूर्ती प्रदर्शनमा राखिएको छ । महोत्सवमा २ लाख दर्शकले अवलोकन गर्ने आयोजकले लक्ष्य लिएको छ भने करिव १० करोडको कारोबार हुने अपेक्षा गरिएको छ ।

Promise Education Consultancy