उवासंघ चितवनको अधिवेशन नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदै

चितवन, ३० पुस । उद्योग वाणिज्य संघ–चितवनको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ । संघमा आगामी कार्यकालको अध्यक्ष पदका लागि अघिल्लो कार्यकालका वरिष्ठ उपाध्यक्ष सहनलाल प्रधान र वर्तमान वरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठले प्रतिस्पर्धा गर्दैछन् ।
उद्योग वाणिज्य संघ–चितवनको ५१ औं साधारण सभा तथा अधिवेशन शनिबारदेखि सुरू भएको हो । अधिवेशनको चितवन क्षेत्र नम्बर २ का सांसद कृष्णभक्त पोख्रेलले उद्घाटन गरे ।

सांसद पोख्रेलले चितवनको आर्थिक समृद्धिका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न उद्योगी व्यवसायीलाई सुझाव दिए । नेकपा एमाले चितवनका अध्यक्षसमेत रहेका सांसद पोख्रेलले भने, ‘चितवन धेरै सम्भावनाका बोकेको जिल्ला हो । यसलाई आर्थिक राजधानी बनाउन तपाईँ व्यवसायीहरु लाग्नुहोस्, त्यसका लागि म तयार छु ।’
कार्यक्रममा चितवन क्षेत्र नम्वर दुई प्रदेश ‘क’ का सांसद घनश्याम दाहालले चितवनलाई तीन खण्डे अर्थनीतिका आधारमा विकास गर्नुपर्ने बताए । उनले चितवनमा कृषि, पर्यटन, स्वास्थ्य र शिक्षाको सम्भावना रहेकाले त्यसै अनुरुप जिल्लाको विकास गर्नुपर्ने बताए ।
उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले उद्घाटन गर्ने भनिएको साधारण सभा राणा नआएपछि चितवन क्षेत्र नम्बर २ का सांसद कृष्णभक्त पोख्रेलले उद्घाटन गरेका थिए । त्यस अवसरमा पत्रकार ईश्वर जोशीलाई ५१ हजार रुपैयाँ राशीको आर्थिक पत्रकारिता पुरस्कारबाट सम्मानित गरियो ।
संघमा निवर्तमान अध्यक्षसहित पदाधिकारी ६ जना, उद्योगतर्फ ६ जना, वाणिज्यतर्फ ६ जना, वस्तुगत ४ जना, कर्पोरेट २ जना, महिला सदस्य १ जना, क्षेत्रीय संगठित १ जना र मनोनित ३ गरी कुल २९ जनाको कार्यसमिति रहनेछ । निर्वाचित हुने ५ जना पदाधिकारीका लागि १० जनाको उम्मेदवारी परेको छ । ४७ जनाको उम्मेदवारी परेकोमा मापदण्ड नपुगेका कारण एकजनाको सदस्य पद खारेज भएपछि ४६ जना चुनावी मैदानमा रहेका छन् ।
निर्वाचन समितिले दिएको जानकारी अनुसार वरिष्ठ उपाध्यक्ष पदमा हालका प्रथम उपाध्यक्ष चुननारायण श्रेष्ठ र हालका तृतीय उपाध्यक्ष विष्णुप्रसाद कँडेल चुनावी मैदानमा छन् । उद्योग तर्फको उपाध्यक्षमा सुमनकुमार श्रेष्ठ र नवीन कँडेल, वाणिज्यतर्फ भोजराज कौडाल र विपेन्द्र रामुदामु तथा वस्तुगत, कर्पोरेट र क्षेत्रीय उपाध्यक्षतर्फ चिरञ्जीवी सुवेदी र राजेन्द्र कँडेलबीच प्रतिस्पर्धा हँुदैछ । त्यस्तै, उद्योगतर्फको कार्यसमिति ६ जनाको लागि ११ जनाको उम्मेदवारी परेको छ ।
उम्मेदवारी दिनेमा उद्योगतर्फ अशोक अधिकारी, केपी भण्डारी, चन्द्रमणि सापकोटा, रोहितकुमार श्रेष्ठ, सिद्धार्थलाल चुके, सोमप्रसाद काप्री, ईन्जिनियर कृष्णप्रसाद रिजाल, दिनेश राठी, दुर्गाप्रसाद गौतम, लीलबहादुर क्षेत्री र सूर्यमणि पौडेल रहेका छन् । वाणिज्यतर्फको कार्यसमितिमा ६ जना सदस्यका लागि १२ जनाको उम्मेदवारी परेको छ । जसमा ईश्वरीप्रसाद खराल, तारानाथ पाठक, बलराम भण्डारी, राजेन्द्र ओली, लक्ष्मी रिमाल पौडेल, ज्ञानुप्रसाद न्यौपाने, थिरप्रसाद धिताल, प्रभात ढुंगाना, विद्यासागर चालिसे, बाबुराम कँडेल, मुना गुरुङ, शंकरप्रसाद घिमिरे रहेका छन् ।
वस्तुगत तर्फको सदस्यमा शिवप्रसाद ओझा, रविन्द्र बराल, दिपक शर्मा पौडेल, विकास थापा, कृष्णप्रसाद काफ्ले र किरणकुमार खनालले उम्मेद्वारी दिएका छन् । यस्तै महिलातर्फको सदस्यमा रजनी मास्के र सुलोचना श्रेष्ठको उम्मेदवारी परेको छ ।
यसैबीच क्षेत्रगत र कर्पोरेट तर्फ सहनलाल प्रधान प्यानलका तीनजना निविरोध निर्वाचित भएका छन् । क्षेत्रगतमा माडीका रेशमराज आचार्य र कर्पोरेट तर्फका यमबहादुर विक र शिरिष पन्त निर्विरोध भएका हुन् ।

कार्यसमितिका २६ जनाको चुनावबाट छिनोफानो हुने भएको हो ।
उद्योग वाणिज्य संघ चितवनको आगामी नेतृत्वका लागि उम्मेदवारबीच मतदाता आफ्नो पक्षमा पार्न शनिवार बेलुकीसम्म रस्साकस्सी नै चलेको थियो ।

अध्यक्ष पदका उम्मेदवार संघका पूर्व वरिष्ठ उपाध्यक्ष सहनलाल प्रधानले संघमा आफ्नो लामो संघर्ष र योगदानको कारण चुनाव जित्नेमा ढुक्क रहेको बताएका छन् । उनले आफुलाई पूर्व अध्यक्षहरुको साथ सहयोग प्राप्त भएको र व्यवसायीको आग्रहमा उम्मेदवारी दिएको कारण विजयी हुने विश्वास व्यक्त गरे ।
वर्तमान अध्यक्षको साथमा अध्यक्ष पदमा उम्मेदवारी दिएका राजु श्रेष्ठले पनि आफ्नो काम व्यवसायीहरुले मन पराएका कारण विजयी हुने दावी गरेका छन् । आइतबार बिहान ९ बजेदेखि शुरु हुने मतदान अपराह्न ४ बजेसम्म हुने निर्वाचन अधिकृत जगन्नाथ भण्डारीले जानकारी दिएका छन् । उनका अनुसार उवासंघ चितवनमा २ हजार ८ सय ५६ जना मतदाता रहेका छन् ।