खैरहनीमा पाँचौ खिचरा महोत्सव सुरु

खैरहनी २८ पुस । पूर्वी चितवनको खैरहनीमा शुक्रवार देखि पाँचौं खिचरा महोत्सव सूरु भएको छ । थारु कल्याणकारिणी सभा क्षेत्र नं.७ ले आयोजना गरेको सो महोत्सवको भूमिसुधार मन्त्री डा.गोपाल दहित एक भब्य समारोहका बीच उद्घाटन गरेका थिए । सो अबसरमा मन्त्री दहितले थारु समुदायले महत्वपूर्ण पर्वको रुपमा मनाउने माघी पर्वले राष्ट्रिय स्तरको मान्यता पाईसकेको बताए । सरकारले माघी पर्वलाई महत्व दिएको भन्दै उनले यसलाई फराकिलो बनाउन आवश्यक रहेको बताए । मन्त्री दहितले माघी पर्व अहिले अन्तराष्टिय स्तरमा समेत मनाउन थालिएकोले यसको विशिष्टता बढदै गएको बताए । माघी पर्वले थारुहरुको पहिचान,अधिकार र संस्कृतिको महत्व बोकेको बताए । कार्यक्रममा प्रदेश सभा साँसद रामलाल महतोले थारु संस्कृतिको संरक्षणको लागि राष्ट्रिय स्तरमै पहल कदमी आवश्यक रहेको बताए । विदेशी संस्कृतिका कारण थारु संस्कृति विस्तारै लोप हुने अबस्थामा रहेको भन्दै उनले यसको संरक्षणको लागि थारु समुदायका अगुवा सचेत हुन जरुरी रहेको बताए । थारु पोसाक लगाएर थारुकै गीतमा नाच्ने परम्परा हराएको भन्दै उनले यसलाई निरन्तरता दिनुपर्ने बताए । कार्यक्रममा खैरहनी नगरपालिकाकी उपमेयर सुनिता थपलियाले खिचरा महोत्सव अब थारु समुदायको मात्र नभई सबै जातजातिको साझा महोत्सवको रुपमा विकास भएको बताईन कार्यक्रममा भूमिसुधार मन्त्री डा.गोपाल दहितले महोत्सव स्थलमा निर्माण गरिएको पाँच फिटको घोँगी र चिचरको मुर्ति अनाबरण समेत गरेका थिए । थारु समुदायको सांस्कृतिक महत्व उजागर गर्ने उद्देश्यले खैरहनी नगरपालिका–५ जबकौली स्थित गौचरनमा महोत्सव आयोजना गरिएको हो । महोत्सवमा थारु संस्कृतिको हस्तकलाको प्रदर्शनीसमेत हुनेछ । माघ ८ गतेसम्म सञ्चालन हुने सो महोत्सवमा २०० वटा स्टलहरु रहेका छन । महोत्सव परिसरभित्र प्रवेश गर्नका लागि रु ५० तथा विद्यार्थीका लागि रु २५ शुल्क लाग्ने प्रचारप्रसार समितिका संयोजक कारी महतोले जानकारी दिए । वृद्धावृद्ध र अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । टिकट बिक्रीबाट संकलित रकम थारु संग्रहालय र इ–लाइब्रेरी बनाउनका लागि खर्च गरिने आयोजकले जनाएको छ । महोत्सवका संयोजक नारायण महतोको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा थारु कल्याणकारिणी सभा चितवनका अध्यक्ष विश्राम महतो,स्वागत तथा सस्कार समितिकी संयोजक चन्द्राकुमार चौधरी लगायतले मन्तव्य राखेका थिए ।

Promise Education Consultancy