नवलपरासी, चितवन र पर्साको सामुदायिक वनमा बाघ गणना हुने

चितवन पुस २७ । नवलपरासी, चितवन र पर्साको सामुदायिक वनमा बाघ गणना हुने भएको छ । सामुदायिक वनमा पहिलोपटक क्यामेरा ट्रयापिङ्ग प्रविधिको माध्यमबाट बाघको गणना गरिने भएको हो ।

यसअघि चितवन निकुञ्जमा मात्र बाघ गणना गरिने गरेपनि बाघको संख्या एकिन गर्न निकुञ्ज आसपासको वनमा समेत पहिलोपटक गणना गर्न लागेको हो । चितवन निकुञ्जसँग जोडिएका जंगल बाघको राम्रो बासस्थान मानिन्छ । राष्ट्रिय प्रकृति संरक्षण कोष, राष्ट्रिय निकुञ्ज, हरियो वन, ताल लगायतका संघसंस्थाको सहकार्यमा बाघको गणना गरिने भएको हो ।

बाघ गणनाका लागि भोलि प्राविधिक सहितको टोली नवलपरासी पुग्ने छ र २९ गतेबाट क्यामेरा ट्रयापिङ्ग गर्ने काम शुरु हुने चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । बाघ गणनामा वन्यजन्तु विज्ञ, बाघ विज्ञ सहित यस क्षेत्रमा अध्ययन गरिरहेका नयाँ विद्यार्थीको सहभागिता रहने छ ।

निकुञ्ज, मध्यवर्ती क्षेत्र र सामुदायिक बनमा एकै पटक बाघ गणना गरिने भएको हो । निकुञ्जसंग जोडिएका सामुदायिक वनमा बाघ हेर्न पछिल्लो पटक विदेशी पर्यटकहरु लोभिने गरेका छन् ।

निकुञ्जबाट बाहिर सारिएका ठुला लगानीका होटलहरुले सामुदायिक र मध्यवर्ती जंगलमा वन्य जन्तु अवोलोकनका लागि पर्यटकहरु लैजाने गरेका छन् ।

नवलपरासीको गैडाकोट, कावासोतीको पिठौली, मध्यविन्दुको तमासपुर र चोरमारा, विनयी त्रिवेणीको दुम्कीबासमा गरी ५ स्थानमा प्राविधिक टोली क्यामेरा ट्रापिङ्गका लागि खटिने भएको छ ।

नवलपरासीको सामुदायिक वनहरुमा गत वर्ष बाघको आक्रमणबाट ७ जनाले ज्यान गुमाएका थिए भने घाईते समेत भएका थिए ।

तसर्थ सामुदायिक वनमा बाघको बासस्थान नै छ कि अन्यत्रबाट आउने गरेका छन भन्ने पत्ता लगाएर सम्भावित घटनाबाट बच्नका लागि पनि सामुदायिक वनमा पनि बाघको गणना गर्न लागिएको सामुदायिक वन महासंघ नवलपरासीका सचिवालय सदस्य होमनाथ पाण्डेले जानकारी दिनुभयो ।

साथै बाघको वर्तमान अवस्थाका बारेमा जानकारी लिएर यसको संरक्षणमा आवस्यक योजना निर्माणका लागि पनि गणना गरिन लागिएको उहाँले बताउनुभयो । नवलपुरका पहाडी क्षेत्रमा रहेका सामुदायिक वनहरुमा पनि क्यामेरा ट्रयापिङ्ग गरेर बाघको गणना गरिने उहाँले बताउनुभयो ।

Promise Education Consultancy