खिचरा महोत्सव २०७४ लाई सांगेतीक उत्सवको रुपमा मनाउने तयारी

सन्तकुमार चौधरी

चितवन २६, पौष । पाँचौ खिचरा महोत्सव २०७४ लाई सांगेतीक उत्सवको रुपमा मनाउने आयोजकले तयारी गरेको छ । विगतका वर्षहरु भन्दा यो पटक सांगेतीक माहोललाई थप रोचर र मनोरञ्जनात्मक बनाउने गरी आयोजक जुटेको हो । पौष २८ गतेदेखि सुरु हुने खिचरा महोत्सव सांगेतीक उत्सवकै रुपमा मनाउने गरी विभिन्न खालका गायक ÷ गायिकाहरुलाई निम्तो गरिएको आयोजक थारु कल्याणकारिणी सभा क्षेत्र नंं ७ का सभापति नारायण महतोले जानकारी दिनुभयो ।
महोत्सव मूल समारोह समितिका संयोजक समेत रहनुभएका महतोले यो पटकको महोत्सवलाई सांस्कृतिक सँगै सांगेतीक उत्सवको रुपमा लैजाने तयारी गरिएको बताउनुभयो । महोत्सवमै पहिलो पटक मञ्चसँगै १८ इन्चको एलइडीमा कलाकारहरुको प्रस्तुती हेर्न पाइने व्यवस्था गरिएको छ । थारु, मगर, गुरुङ लगायत विभिन्न जातजातिको सांस्कृतिक प्रस्तुती सँगै सांगेतीक माहोलमा दर्शकहरु रमाउने गरी तयारी गरिएको महोत्सवको सांस्कृतिक संयोजक जयस चौधरीले जानकारी दिनुभयो ।


महोत्सव अवलोकन गर्न आउने सबैखालका दर्शकलाई लक्षित गरेर कलाकारहरुलाई निम्तो गरिएको छ । यो पटक महोत्सव अवलोकन गर्न आउनेहरुले फरक खालको अनुभुती गर्ने गरी कलाकारहरुलाई बोलाइएको आयोजकले जनाएको छ । लोक दोहोरी देखि गजल सम्म महोत्सव अवधिभर सुन्न पाइनेछ । सांस्कृतिक संयोजक चौधरीका अनुसार लोक दोहोरीका लागि पशुपती शर्मा आउने पक्का पक्की भइसकेको छ । युवा पुस्ताले औद्यी रुचाएका आधुनिक गायन क्षेत्रका गायक प्रमोद खरेलको पनि सांगेतीक प्रस्तुती रहनेछ । उनले दर्जन भन्दाबढी गीत गाएर दर्शकहरुलाई मनोरञ्जन दिने छन् । यस्तै गजल गाउन बढी पोख्त मानिएका गायक शिव परियारको पनि खिचरा महोत्सवमा प्रस्तुती रहनेछ । उनले पनि दर्जनबढी गीत गाएर दर्शकलाई सांगेतीक माहोलमा झुमाउनेछन् । यस्तै तन्नेरी उमेरका युवा युवतीले बढी रुचाउने लोक दोहोरी गायिका ज्याति मगरको समेत प्रस्तुती रहनेछ । उनले पनि उत्तिकै मात्रामा गीत गायर मञ्च तताउनेछिन् । यसै गरी नयाँ पुस्ताले बढी रुचाउने गायक कमल खत्रीको समेत सांगेतीक प्रस्तुती रहनेछ । कमल खत्री सँगै गायिका मिलन अमात्य…….गाला रातै गाला रातै गाला रातै …….लगायत झण्डै एकदर्जन गीत गाउनेछिन् ।
गायक मिलन लामाले थारु र नेपाली गीत गाउनेछन । स्थानीय समेत भएकाले सके सम्म धेरै समय दिएर दर्शकलाई मनोरञ्जन प्रदान गर्ने गायक लामाको तयारी छ । यस्तै चितवन आइडल हुँदै सांगेतीक दुनियामा बेग्लै परिचय बनाउन सफल सुरेश लामाको समेत प्रस्तुती हुनेछ । यस्तै थारु समुदायले बढी रुचाएका गायक मनोज महतो र सन्जय चौधरीको समेत सांगेतीक प्रस्तुती रहनेछन् । दुवैजनाले मातृभाषा सहित अन्य भाषामा गीत गाउनेछन् । गायक अमित चौधरीले समेत यो पटक आफ्नो प्रस्तुती दिनेछन् । अन्य स्थानीय दर्जनौं गायक ÷ गायिका देखि दैनिक रुपमा रत्ननगर कला मन्दिर लगायत विभिन्न क्षेत्रका कलाकारहरुको सांगेतीक प्रस्तुती रहनेछ । महोत्सव माघ ८ गते सम्म चल्नेछ । आयोजकका अनुसार महोत्सवको तयारी पुरा भइसकेको छ ।

Promise Education Consultancy