रत्ननगर महोत्सवको तयारी अन्तिम चरणमा, मुख्य आकर्षणको रुपमा कृतिम धरहरा

चितवन २५ पुस । पूर्वी चितवनको रत्ननगरमा आयोजना हुन लागेको रत्ननगर महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । दुई – दुईवर्षमा आयोजना हुने महोत्सव यो पटक नवौं संस्करण अन्तर्गत पौष २७ गतेदेखि माघ ७ गते सम्म आयोजना हुँदैछ । महोत्सवको सबै तयारी अन्तिम चरणमा पुगेको मंगलवार महोत्सव परिसरमै पत्रकार सम्मेलनको आयोजना गरी आयोजक उद्योग बाणिज्य संघ रत्ननगरले जनाएको छ ।
यो पटक प्रमुख आकर्षणको रुपमा महोत्सव परिसरमा धरहरा निर्माण गरिएको छ । मौलिक पहिचान झल्कने गरी धरहरा निर्माण गरिएको हो । महोत्सव मूल आयोजक समितिका संयोजक तथा रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले धरहरा चढेर दृश्यावलोकन गर्न सकिनेगरी बाँसबाट निर्माण गरिएको जानकारी दिनुभयो । धरहरा अवलोकन गर्न आउने दर्शकहरुवाट संकलन भएको रकम मध्ये केही रकम धरहरा निर्माणका लागि प्रदान गरिने समेत उहाँले बताउनुभयो ।
बाँसबाट कृत्रिम धरहरा निर्माणको काम समेत पुरा भएको आयोजकले जनाएको छ । ७५ फिट अग्लो बनाइएको धरहरामा एकपटकमा ६० जना सम्म चढेर अवलोकन गर्न सक्नेछन् । बाँसलाई कपडाले बाँधेर निर्माण गरिएको अस्थायी धरहराको बाहिरी भाग पुरै सेतो कपडाले बेरेर दुरुस्त धरहराको रंङ दिइएको छ । सांस्कृतिक रुपमा पहिचान बनेको धरहराको महत्व झल्काउन र यसको आवश्यकता छ भनेर आम सर्वसाधरणलाई देखाउनका लागि महोत्सव परिसरमा धरहरा निर्माण गरिएको संघका उपाध्यक्ष रघुनाथ भट्टले बताउनुभयो ।
ऐतिहासिक महत्व बोकेको सांस्कृतिक धरोहरहरु संरक्षण र प्रर्वद्धनगर्ने दायित्व यस्तै खालको मेला महोत्सवको भएकाले रत्ननगर महोत्सवमा धरहराको प्रतिमूर्ती बनाइएको महोत्सव आर्थिक समिति संयोजक समेत रहनुभएका संघका निर्वतमान अध्यक्ष ज्ञानवहादुर विसुरालले जानकारी दिनुभयो । कृतिम धरहरा बनाउन भारतको सिलगुडीबाट कालिगढहरु ल्याइएको समेत उहाँले जानकारी दिनुभयो ।
महोत्सव परिसरमा निर्माण भएको धरहरा अवलोकनका लागि प्रति व्यक्तिवाट ७५ रुपैयाँ संकलन गर्ने आयोजकको तयारी छ । विद्यार्थीलाई भने आधा रकम छुट हुनेछ । महोत्सवमा उद्योग, व्यापार, कृषि, पर्यटन, विभिन्न जातजातिका घरहरु लगायत स्थानीय तथा अन्य क्षेत्रमा उत्पादित बस्तुहरुको ४ सय ५० बढी स्टल रहनेछन् । महोत्वस अवधिभर दैनिक रुपमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको सांगेतीक प्रस्तुती समेत रहने आयोजकले जनाएको छ । महोत्सवमा यो पटक वंगलादेश, पाकिस्तान र भारतको समेत सहभगिता रहने संघले जनाईएको छ । ५ लाख भन्दा बढि दर्शकले अवलोकन गर्ने महोत्सवमा ५० करोड भन्दा बढिको कारोबार हुने अपेक्षा गरिएको छ । महोत्सवको उद्घाटन उपराष्टपती नन्दवहादुर पुनले गर्नुहुने कार्यक्रम छ । ((००))

Promise Education Consultancy