विपद व्यवस्थापनमा समुदायको चासो बढ्दो

चितवन जिल्ला स्थित साविकका ९ पहाडी गाविसमध्ये अति विकट गाविस हो लोथर । अहिले राप्ती नगरपालिका १२ र १३ नम्बर वडामा गाभिएको लोथरको भौगोलिक, अवस्था अत्यन्तै विकट छ । यहाँको मुख्य विपदहरु ,खहरे बाढी, पहिरो, आगलागी, भुकम्प र भुक्षय हुन् ।
साविक लोथर गाविसमा रहेका ८ सामुदायिक विद्यालयहरु पहिरोको उच्च जोखिममा छन् । यस्तै वाक्राङ, एसिकाई,कालिटार, तापाङ, स्याम्राङ लगायतका टोलहरु पहिरोको जोखिममा रहेका छन् । यहाँ कुल ५सय ८३ घरधुरीमा ३हजार ९सय ३३ जनसंख्या रहेको छ । जसमा करिब ५० प्रतिशत पहिरोको जोखिममा भएको सामुदायिक विपद व्यवथापन समिती यौरालीटारका अध्यक्ष चन्द्रबहादुर तामाङ बताउनुहुन्छ । शैक्षिक अवस्था अत्यन्तै कमजोर छ । शैक्षिक स्तर ४५ प्रतिशत मात्र छ । अज्ञानताका कारण विपद बढ्दो छ । लोथर खोला र यसमा मिसिने सयौ खहरे खोलाहरुले बाढी पहिरोको जोखिम बढी छ । २०७२ को भुकम्पपछि झन् पहाडहरु सबै फाटेका छन् । एसिकाईका ११ घर उच्च जोखिममा छन् भने तापाङका ८ घर स्याम्राङका ३५ घर २०७४ का अविरल बर्षापछिको पहिरोले थप जोखिम नित्याएको छ ।
विपद व्यवस्थापन शिक्षा र बिशेषगरि पहिरो रोकथामका लागि पहिलो पटक लोथर गाविसमा विपद व्यवस्थापनको पाइलट प्राजेक्ट लिएर पुग्यो नेपाल ग्रामिण पुर्ननिमार्ण संस्था आरआरएन । जलउत्पन्न प्रकोप न्युनिकरण परियोजना (आरआरएन)को समन्वयमा पहिरोको उच्च जोखिम भएका ५ वटा वडा(साविकका १,२,३,४,५)मा सामुदायिक विपद व्यवस्थापन समिति गठन गरिए । गाविसमा एउटा स्थानीय विपद व्यवस्थापन समिती गठन भयो । गाउंको विपद व्यवस्थापनमा राप्ती नगरपालिका १२ का वडाअध्यक्ष अर्जुन चेपाङ र १३ का वडाध्यक्ष सुर्यबहादुर चेपाङ सहित जननिर्वाचित प्रतिनिधि, काग्रेस , एमाले , माओवादीका प्रतिनिधि, शिक्षक, महिला समुह, युवासमुह, स्वास्थ्य स्वयम्सेविका, स्वास्थ्यकार्यकर्ता सबै सम्लग्न छन् ।
विपद व्यवस्थापन समिती कान्दामा सन्तुमाया चेपाङ अध्यक्ष छन् । उनका अनुसार समितीमार्फत गाउंमा विकास पनि भएको छ । कान्दाको कान्देश्वरी प्राथमिक विद्यालय पहिरोको उच्च जोखिममा थियो । विपद व्यवस्थापन समितीमा छलफल गरि आरआरएनसंग यसबारेमा कुरा राखेपछि अहिले उक्त विद्यालयमा सुरक्षात्मक पर्खाल निमार्ण गरिएको छ । पहिरोले लानै लागेको उक्त विद्यालय अहिले सुरक्षित भएको सन्तुमायाको भनाई छ । कान्दाको उक्त विद्यालयमा १६० जना विद्यार्थी अध्यययरत छन् । जहाँ ८ जना शिक्षक रहेका छन् । सन्तुमायाको घर कान्दा नै हो । उनी कुमार बलराम छात्रबास कान्दामा कार्यरत छन् । गाउंमा भएको विद्यालय पहिरोले लाने हो कि भन्ने चिन्ता उनमा थियो अहिले भने यो चिन्ताबाट सन्तुमायाजस्तै अन्य पनि ढुक्क छन् ।
राप्ती नगरपालिका वडा नम्बर–१२ पलासेमा २०२२ सालदेखि बस्दै आएका कुलबहादुर तामाङ स्थानीय विपद व्यवस्थापन समितीका सदस्य हुन् । पहिले उनी बृक्षारोपण अभियानमा पनि थिए । तर खुला चरिचरण रोक्न नसक्दा उनी यो अभियानमा एक्लो भए । अहिले भने विपद व्यवस्थापन समिती गठन गरेपछि वनजंगल संरक्षण र बृक्षारोपण गर्नुपर्छ भन्ने चेतना फैलाउन सजिलो भएको छ । बृक्षारोपण गरे बाढी पहिरो नियन्त्रण हुने सन्देश उनले गाउंलाई दिदैं हिड्छन् ।
सामुदायिक विपद व्यवस्थापन समिती यौरालीटारका अध्यक्ष हुन् चन्द्रबहादुर तामाङ । उनी केही बर्ष यौरालीटारको श्री गणेश निमाविमा विद्यालय व्यवस्थापन समिती को अध्यक्ष भए । रकम अभाव र समुदायको चासोको अभावका कारण पहिरोको संकटासन्नताको अवस्थामा रहेको विद्यालयमा केही गर्न सकेनन् । तर अहिले भने उक्त विद्यालयमा पनि सुरक्षात्मक पर्खाल निमार्ण गरिएको छ । जुन विद्यालयमा कक्षा ८ सम्म पढाई हुन्छ । जसमा १९० जना विद्यार्थी शिक्षा हासिल गर्न आउने गर्दछन् । यहाँ १० जना शिक्षक शिक्षिका हुनुहुन्छ । यस विद्यालयमा राप्ती नगरपालिका वडा नम्बर १२ र १३ (साविक लोथर गाविसका ९ वटै वडा सहित मकवानपुरका केही ठाउंबाट पनि बालबालबालिकाहरु शिक्षा हासिल गर्न आउंछन् ।
विपद व्यवस्थापनमा लागि पर्ने अर्को नाम हो यानीमाया प्रजा । उनी सामुदायिक विपद व्यवस्थापन समिती तापाङकी सचिव हुन् । कक्षा ८ पढ्दा पढ्दै सानैमा विहे भयो । विहेपछि पढाइले निरन्तरता पाउन सकेन । घरपरिवारमै सिमित बनेकी यानीमायाको विपद व्यवस्थापन समिती गठनपछि व्यस्तता बढेको छ । उनले विपदले निम्त्याउने विनासको बारेमा गाउलेलाई सचेतना दिने गर्छिन् । “यहाँका मानिसहरु असाध्यै गरिब छन् । विहान बेलुकाको छाक टार्न पनि धौधौ पर्छ । त्यसैले हरेक कुरा पैसासंग मात्र जोडिने गर्छ । मानिसहरुलाई बुझाउन समस्या त पर्छ नै तर आफ्नै फाइदाको कुरा हो भनेपछि यस बिषयमा चासो भने राख्ने गर्दछन्, उनले यथार्थ सुनाइन् ।” ५ वटै विपद व्यववस्थापन समितीहरुमा हरेक महिना प्राकृतिक विपदका कारण यसको असर, व्यवस्थापनको उपाय लगायतका विषयमा छलफल हुने गर्दछ । संस्थाको समन्वयमा सामुदायिक विपद व्यवस्थापन समितीहरुको १ बर्षमा २७ पटक बैठक आयोजना गरिए । जसबाट ३४२ जना प्रत्यक्ष लाभान्वित भए । यसैगरि यो एक बर्षको बिचमा स्थानीय जोखिम तथा विपद व्यवस्थापन सम्बन्धी ५ दिने तालिम, विपद व्यवस्थापन योजना तर्जुमा निर्माण सम्बन्धी २ दिने तालिम र विपद व्यवस्थापनमा समुदायको भुमिका र जिम्मेवारी सम्बन्धी १दिने गोष्ठि आयोजना गरिएको परियोजनाका प्रमुख व्यवस्थापक मदिना पौडेलले बताउनुभयो । यसबाट कुल ८सय८२ जना प्रत्यक्ष लाभान्वित भएका छन् ।
परियोजनाले लोथरमा काम शुरु गरेपछि विद्यालयमा समेत विपद ं शिक्षा दिन थालिएको छ । मानिसहरुमा वनजंगल फडानी गर्नुहुदैंन , खुला चरिचरण रोक्नुपर्छ, विकासका योजनाहरुलाई विपद व्यवस्थापनसंग जोडेर लैजानुपर्छ, भन्ने व्यवहारिक चेतना बढेको छ । पहिले विपद व्यवस्थापनको नामै सुन्न नचाहनेहरु अहिले आफै यसमा चासो देखाउन थालेका छन् । सामुदायिक विपद व्यवस्थापन समितीको बैठकमा सहभागिता बढ्न थालेको छ ।
गाउंमा विकासे बजेट लिएर पुग्नेलाई पनि यसबारेमा ध्यान दिन अनुरोध गर्ने भएका छन् । बृक्षारोपण गर्नुपर्छ जंगल फडानी गर्नु हुदैंन भन्ने ज्ञान पस्दै गएको छ । मासिक रुपमा विपद व्यवस्थापन सम्बन्धी बैठक बस्न थालेका छन् । वडास्तरीय समिती संगै टोलस्तरीय समिती बनाई क्रियाशिल हुन थालेका छन् । आफ्नो गाउंको विपदलाई कम गर्न लोथरबासी एक हुन थालेका छन् ।

सामुदायिक विपद व्यस्थापन समितीका पदाधिकारीहरुसंग गरिएको कुराकानीमा आधारित ।
संकलन : सरिता पौडेल
आरआरएन परियोजना फिल्ड संयोजक
लोथर ।

Promise Education Consultancy