पाँचौ खिचरा महोत्सवमा आउने दर्शकहरुलाई उपहार र पुरस्कारको वर्षा

राजेन्द्र आचार्य
चितवन, २५ पुस । सेल्फी मोह हुनेहरुलाई पाँचौं खिचरा महोत्सवमा आएर सेल्फी खिच्दा दोहोरो फाइदा हुने भएको छ । पहिलो सेल्फी खिच्न पनि पाइने र उक्त सेल्फी फोटो आयोजकहरुलाई पठाउँदा आकर्षक पुरस्कार पनि पाइने भएपछि युवा युवतीहरु निकै उत्साहित देखिन्छन् । खिचरा महोत्सवमा आएर सेल्फी खिचेर उक्त फोटो खिचरा महोत्सवको फेसबुक पेजको इन्बक्स वा इमेलमा पठाएपछि आयोजकले उक्त फोटो फेसबुक पेजमा अपलोड गरिदिनेछन् । त्यसपेजको फोटोलाई लाइक, मेन्सन र शेयर गर्न पाइनेछ । अन्तिम दिनसम्म जसको फोटोमा सबभन्दा बढी लाइक र शेयर हुन्छ, त्यसलाई विजेता घोषित गरिने कुरा आयोजकले जनाएको छ ।
सेल्फी कन्टेस्टमा प्रथम, दोश्रो र तेश्रो हुनेलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको सेल्फी कन्टेस्टका संयोजक रबि चौधरीले बताए । प्रथम पुरस्कारका लागि पर्सा चौबिस कोठीमा रहेका ज्यू जय माँ वस्त्रालयका संचालक रामेश्वर चौधरीले १५ हजारको सामसुङ्ग मोबाइल उपहार सौजन्य गरेका छन् । त्यस्तै दोश्रो पुरस्कार पर्सा बजारका क्यु टि साउण्ड एण्ड इलेक्ट्रिकका संचालक अक्षय चौधरीले मोबाइल पुरस्कार सौजन्य गरेका छन् । त्यस्तै तेश्रो पुरस्कार पनि पाइने आयोजकले जनाएको छ ।
त्यतिमात्र होइन, पाँचौ खिचरा महोत्सवमा आउने दर्शकलाई रु ५० को हरेक टिकटमा रु २५ बराबरको पल्पी जुस पनि उपहार प्रदान गरिनेछ । महोत्सवको अन्तिम दिन बिक्री भएको टिकटबाट लक्की ड्र मार्फत एक जनालाई रु ३५ हजार बराबरको बक्स पलङ्ग बम्पर उपहार समेत प्रदान गरिने आयोजकले जनाएको छ । उक्त बम्पर उपहार रत्न काष्ठ तथा फर्निचर उद्योगले सौजन्य गरेका कुरा मूल आयोजक समितिका संयोजक नारायण प्रसाद महतोले बताए ।
महोत्सवले राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता, हाजिरीजवाफ प्रतियोगिता, थारु साँस्कृतिक हस्तकला प्रतियोगिता, कृषि उपज प्रतियोगिता, चालिस वर्ष कटेका महिला पुरुषको दौड प्रतियोगिता लगायत विभिन्न प्रतियोगिता समेत आयोजना गरेको छ । ती सबै प्रतियोगिताहरुको कुल पुरस्कार रकम ४ लाख ३ हजार रुपैयाँ रहेको कुरा प्रचारप्रसार समितिका संयोजक कारी महतोले जनाएका छन् ।