पाँचौ खिचरा महोत्सवको तयारी अन्तिम चरणमा, यस वर्ष घोङ्घी र पोकाको विशाल मूर्ति आकर्षण

सञ्जय चौधरी

चितवन, २५ पुस ।  थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं. ७ ले आयोजना गर्ने र धर्तीपुत्रका रुपमा परिचित चितवनका थारु समुदायले सञ्चालन गर्ने ‘पाँचौ खिचरा महोत्सव २०७४ को तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सवको स्टल निर्माण र प्रचारप्रसारको काम तीब्र रुपमा भईरहेको संघले जनाएको छ ।
“राष्ट्रिय एकता र विविधता हाम्रो शान बहुजाति, भाषा, सँस्कृति नेपालको पहिचान” भन्ने नारासहित पूर्वी चितवनको खैरहनी नगरपालिका–५, जबकौली गौचरनमा यहि पुस २८ देखि माघ ८ सम्म संचालन हुने महोत्सव स्थानिय थारु संस्कृतिको संरक्षण र थारु खानाको प्रबद्र्धन गर्नु रहेको महोत्सव मुल समारोह समितिका संयोजक नारायणप्रसाद महतोले जानकारी दिनुभयो ।
अहिले महोत्सव परिसर सजावटका कामहरु अन्तिम चरणमा पुगेको छ । महोत्सवमा २०० जति स्टल रहने र सम्पूर्ण स्टल बुकिङ भैरसकेको संयोजक महतोले जानकारी दिनुभयो ।
यस्तै महोत्सवमा आउने दर्शकहरुको टिकटमा ३५ हजार रुपैयाँ बराबरको बम्पर उपहारमा एउटा पलङ राखिएको छ भने प्रत्येक ५० रुपैयाँको टिकटमा २५ रुपैयाँ बराबरको एक थान पल्पी जुस उपहारको व्यवस्था गरिएको छ ।
महोत्सवमा बाल उद्यान लगायत मनोरञ्जनात्मक खेलहरु पनि महोत्सव परिसरभित्र राखिनुका साथै राष्ट्रिय तथा स्थानीय स्तरका ख्यातिप्राप्त कलाकारहरुको पनि बेजोड प्रस्तुति रहने जनाइएको छ ।
यसवर्ष महोत्सव परिसरमा घोङ्घी र चिचर (पोका) को ५ फिटको विशाल मूर्ति स्थापना गरि प्रर्दशनमा राखिने छ । पर्यटनलाई प्रवद्र्धन गर्नका लागि महोत्सवस्थलदेखि कुमरोज मध्यवर्ती सामुदायिक वनमा जीप सफारी र जंगल सफारी, महोत्सव परिसरमा बोटिङ्ग कार्यक्रम राखिएको संयोजक महतोले जानकारी दिनुभयो ।
महोत्सवमा आउने युवाहरुलाई लक्षित गरी खिचरा महोत्सवको पेज मार्फत सेल्फी प्रतियोगिता, खेलाडीहरुका लागि राष्ट्रियस्तरको भलिबल प्रतियोगिता, ४० वर्षसम्मका महिला र पुरुषको लागि छुट्टाछुट्टै दौड प्रतियोगिता, कृषकहरुका लागि कृषि उपज प्रतियोगिता र थारु हस्तकला सम्बन्धि सीप जगेर्ना एवम् युवापुस्तालाई हस्तान्तत्रण गर्नका लागि थारु साँस्कृतिक घरेलु हस्तकला सामग्री निर्माण प्रतियोगिता आयोजना गरिएको प्रचारप्रसार संयोजक कारी महतोले बताउनुभयो ।
यस वर्षको महोत्सवमा २ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ भने महोत्वसवमा करिव १० करोडको कारोबार भई ६० लाख आम्दानि हुने र ४० लाख खर्च छुट्याई २० लाख आम्दानि हुने अपेक्षा गरिएको आर्थिक समितिका संयोजक संजय चौधरीले जानकारी दिनुभयो ।
महोत्सव परिसरभित्र प्रवेश गर्नका लागि ५० रुपैयाँ टिकट शुल्क लाग्ने र विद्यार्थीका लागि २५ रुपैयाँ टिकट लाग्ने जनाइएको छ । टिकट बिक्रीबाट संकलित रकम थारु आन्दोलनका घाइते सन्जीत महतोलाई सहयोग गर्नुका साथै थारु संग्रहालय र इ–लाइब्रेरी बनाउनका लागि खर्च गरिने आयोजकले जनाएको छ ।
११ दिनसम्म चल्ने महोत्सवको भूमी सुधार मन्त्री गोपाल दहितले समुद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

Promise Education Consultancy