दक्षिण र उत्तर कोरियाबीच वार्ता : ओलम्पिकमा उत्तर कोरियाका खेलाडी सहभागी हुने

काठमाडौं, २५ पुस।आउँदो फेब्रुअरीमा दक्षिण कोरियाको सिओलमा हुने विन्टर ओलम्पिकमा आफ्ना खेलाडी तथा समर्थक पठाउन उत्तर कोरिया सहमत भएको छ । दुई कोरियाका उच्च अधिकारीबीच मंगलबार बिहान भएको उच्चस्तरीय वार्तामा उत्तर कोरियाले विन्टर ओलम्पिकमा आफ्ना खेलाडी पठाउने बताएको दक्षिण कोरियाका अधिकारीले बताएका छन् ।

दक्षिण कोरियाको प्रस्तावमा पान्मुन्जोम गाउँस्थित पिस हाउसमा दुई देशबीच वार्ता भएको हो । पछिल्लो दुई वर्षमा दुई कोरियाबीच भएको यो पहिलो उच्चस्तरीय वार्ता हो ।

नयाँ वर्षको शुभकामना सन्देश दिने क्रममा उत्तर कोरियाका नेता किम जोङ–उनले दक्षिण कोरियासँग सम्बन्ध सु्धार गर्न चाहेको संकेत गर्दै आउँदो फेब्रुअरीमा सिओलमा हुने विन्टर ओलम्पिकमा आफ्नो देशका खेलाडी सहभागी गराउन तयार रहेको बताएका थिए । त्यसपछि दक्षिण कोरियाले विन्टर ओलम्पिकमा उत्तर कोरियाका खेलाडीको सहभागिताको विषयमा छलफल गर्न उच्चस्तरीय वार्ताको प्रस्ताव गरेको थियो ।

वार्ता प्रस्ताव उत्तर कोरियाले स्वीकार गरेसँगै दुई कोरियाबिच पछिल्लो दुई वर्षमा पहिलो पटक छलफल भएको हो । दुई कोरियाबीच यसअघि सन् २०१५ मा वार्ता भएको थियो । त्यसयता उत्तर कोरियाको परमाणु कार्यक्रमका कारण कोरियाली प्रायद्विपमा तनाव बढ्दै गएको थियो । यो वार्ताले दुई कोरियाबिचको सम्बन्ध सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । एजेन्सी

 

Promise Education Consultancy