पार्टी सभापति देउवालाई नेविसंघले दियो ७२ घण्टे अल्टिमेटम

काठमाडौँ,२४ पुस । नेपाल विद्यार्थी संघले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ ।

विद्यार्थीहरुको पक्षमा विगतमा उठाइएका विभिन्न माग ७२ घण्टाभित्र सम्बोधन नगरे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनीसहितको ज्ञापनपत्र प्रधानमन्त्री देउवालाई बुझाएको हो ।

सोमबार विहान प्रधानमन्त्री निवाश बालुवाटार पुगेका उनीहरुले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका क्रममा बम विष्फोटमा परि घाइते नेविसंघकी केन्द्रीय सदस्य मीरा कटुवालको उपचार खर्च समेत सरकारले उपलब्ध नगराएकोमा आक्रोश व्यक्त गरेका थिए ।

नेविसंघले उच्च शिक्षामा सबैको पहुँच पुर्‍याउन शैक्षिक प्रमाणपत्र धितो राखेर सहुलियत ऋणको व्यवस्था गर्नुपर्ने, सबै स्थानीय तहमा प्राविधिक शिक्षाको व्यवस्था गर्नपर्ने, देशभरका सबै शैक्षिक संस्थाहरुमा विद्युतीय पुस्ताकालयको व्यवस्था गर्न, विद्यार्थीहरुलाई निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गर्न सरकारसँग माग गर्दै आएको थियो ।

आफ्ना मागहरु अबको ७२ घण्टाभित्र पनि पूरा नभए सरकारविरुद्ध कडा संघर्षमा जान बाध्य हुने जानकारी प्रधानमन्त्री देउवालाई गराइएको नेविसंघका अध्यक्ष नैनसिंह महरले जानकारी दिए ।

Promise Education Consultancy