चितवनमा समुदायसंग मिलेर ट्राफिक व्यवस्थापन सुरु

 

आशिष उप्रेती
चितवन, पुष २४ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले समुदायसंग मिलेर ट्राफिक व्यवस्थापन सुरु गरेको छ ।
भरतपुर महानगरपालिका र समुदायसंग मिलेर महिनामा एक दिन ट्राफिक व्यवस्थापनलाई भन्ने अभियान आज सोमबार पनि थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिनुभयो । समुदायलाई सहभागी गराउदै सचेतना बढाउने उद्देश्यले कार्यक्रम सुरु गरिएको उहाले बताउनुभयो ।
प्रहरी निरीक्षक पन्तका अनुसार अभियानमा हरेक दिन एउटा संस्थालाई सहभागी गराइने बताउनुभयो । महिनाको ३० दिन नै फरक फरक संघ संस्थासंग मिलेर प्रहरीले ट्राफिक सचेतना कार्यक्रम चलाउदै आएको छ । यसैक्रममा आज सोमबार बिहान पनि भरतपुर महानगरपालिका वडा नम्बर ९ को संगम टोल आमा समूहसंग मिलेर हाकिम चोकमा ट्राफिक सचेतना कार्यक्रम गरेको छ ।

जेब्रा क्रसिङबाट मात्र बाटो काटौ, मापसे गरेर सवारी नचलाऔं, हर्न नबजाऔं, ध्वनी प्रदुषणबाट बचौं र बचाऔं, कम गति जीवन रक्षा लगायतका नारा सहित भरतपुरमा कार्यक्रम गरिएको हो । संगम टोल आमा समूहका सचिव मिरा भण्डारीले सवारी नियमको पालनका लागि जनचेतना दिन प्रहरीसंग मिलेर कार्यक्रम गरिएको बताउनुभयो ।
यसअघि बुधबार पनि ट्राफिक प्रहरीले नेपाल मैत्री समाज नामक संस्थासंग मिलेर सचेतना कार्यक्रम गरेको थियो । वे ग्रुप, लायन्स, रोट्र्याक्ट, रोटरी क्लब, सामथ्र्य नेपाल, आमा समूह, महिला समूह लगायत संघ संस्थाको सहकार्यमा दैनिक रुपमा यस्ता कार्यक्रमहरु हुदै आएको छ ।
ट्राफिक प्रहरीका अनुसार चितवनमा नियमित सचेतनामुलक कार्यक्रम भइरहेको भए पनि नियम उल्लङ्घन र कारबाहीको क्रम भने न्यूनिकरण हुन सकेको छैन ।

Promise Education Consultancy