सिरोहियाविरुद्ध सुमार्गीद्वारा मुद्दा दायर,२५ करोड क्षतिपूर्तिको दाबी

काठमाडौं,२३ पुस ।  अजेयराज सुमार्गीले कान्तिपुर पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध गाली बेइज्जती मुद्दा दायर गरेका छन् ।

सुमार्गीले आज (आइतवार) काठमाडौं जिल्ला अदालतमा सिरोहियाविरुद्ध गाली बेइज्जती मुद्दा दायर गरेका हुन् ।

व्यावसायिक तथा सामाजिक साखमा मानमर्दन गरेर मानप्रतिष्ठामा आँच पु–याएको तथा व्यक्तिगत चरित्रहत्या गरेको दाबीसहित सुमार्गीले २५ करोड रुपैयाँ क्षतिपूर्ति दिलाउन माग गरेका छन् ।

यसअघि उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पनि निवेदन दिएका थिए । आफूविरुद्ध लेखिएका समाचारले उद्योगमा नकारात्मक असर परेको तथा वैदेशिक लगानी आउने वातावरण अवरुद्ध भएका कारण आफूले ठूलो घाटा बेहोर्नुपरेको सुमार्गीले दाबी गरेका छन् ।

सुमार्गीले सिरोहिया शेयरधनी रहेको काठमाडौं मार्ट प्रालिको जग्गामध्ये ५ रोपनी ९ आना आफू अध्यक्ष रहेको मुक्तिश्री सिमेन्ट उद्योगका नाममा खरिद गरेको एक वर्षपछि सिरोहियाले बिक्री गरेकै मूल्यमा आफूलाई फिर्ता गर्न आग्रह गरेको र नगरेपछि आफूमाथि ब्ल्याकमेलिङ र आफ्नाविरुद्ध कान्तिपुर दैनिक र कान्तिपुरसम्बद्ध अन्य प्रकाशन तथा प्रसारण संस्थाहरूले बारम्बार एकतर्फी रूपमा भ्रामक समाचार प्रकाशन तथा प्रसारण गरेको आरोप लगाएका छन् ।

सुमार्गीको लगानीमा हाल हिमालयन अनटप, इन्को प्यानल प्रालि, नेपाल स्याटलाइट, थाहा सञ्चार समूहलगायत एक दर्जनभन्दा बढी कम्पनी सञ्चालित छन् ।

Promise Education Consultancy