सहयात्री साकोस गैँडाकोटको २२ औं साधारण सभा सम्पन्न, लक्ष्मण ओझाँको अध्यक्षतामा नयाँ कार्यसमिति चयन ।

राजन खरेल,

गैँडाकोट, २३ पौस ।


सहयात्री साकोस गैँडाकोटको २२औं साधारण सभा तथा शेयरधनी भेलाले लक्ष्मण ओझाँको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार संस्थाको परिसरमा सम्पन्न साधारण सभा तथा शेयरधनी भेलाबाट नयाँ कार्यसमिति चयन गरिएको हो ।
नव निर्मित कार्यसमितिको उपाध्यक्षमा भिमप्रसाद सापकोटा, सचिव राजेन्द्र पौडेल, कोषाध्यक्ष हरिमाया सापकोटा र सदस्यहरुमा तारापति त्रिपाठी, मोतिमाल ढुंगाना, कल्पना देवकोटा चयन भएका छन् । यस्तै भेलाले जीवनाथ कंडेलको संयोजकत्वमा ३ सदस्यीय समिति चयन गरेको छ । जसको सदस्यहरुमा विष्णुमाया खरेल, माधव चालिसे रहनुभएको छ ।

साधारण सभा नवलपुर जिल्ला समन्वय समितिका अध्यक्ष चेसराम आलेको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष तारापति त्रिपाठीको अध्यक्षतामा भएको हो । सभालाई सम्बोधन गर्दै प्रमुख अतिथी आलेले महिला शसक्तिकरण जस्ता कार्यबाट सहकारीहरुले समाजको उन्नतीको दिशामा अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला बचत संघ नवलपरासीका अध्यक्ष माधव प्रसाद गौतम, युवा स्वारोजगार कोष नवलपरासीका सदस्य सचिब प्रितम भुजेल, गैँडाकोट–७ का वडाध्यक्ष चोलानाथ उपाध्याय, संस्थाका संस्थापक अध्यक्ष गोबिन्द प्रसाद सापकोटा, नारायणी सामुदायिक बन गैँडाकोटका सचिव दिननाथ त्रिपाठी, हरिहर टोल विकास संस्थाका अध्यक्ष खिमानन्द कंडेल, त्रिमुर्ती विधा मन्दिर गैडाकोट–७ का संचालक गुरुप्रसाद कंडेल लगायतले शुभकामना मन्तब्य राख्दै संस्थाले समुदायमा छरिएर रहेका स–साना बचत संकलन जस्तो महत्वपुर्ण कार्य गरि उल्लेखनिय कार्यगरेको भन्दै प्रशंसा व्यक्त गर्नुभयो ।

कार्यक्रममा संस्थाका सचिव लुमराज आर्चायले आर्थिक वर्ष ०७३–०७४ को प्रगति प्रतिवेदन तथा आगामी वर्ष ०७४–०७५को भाबी कार्यक्रम प्रस्तुत गर्दै संस्थाको कुल सम्पति गत वर्षको तुलनामा २३ प्रतिशतले बृद्धि भई ४ करोड १२ लाख पुगेको बताउनुभयो । कार्यक्रममा सहकारीकी कोषाध्यक्ष हरिमाया सापकोटाले आ.व ०७३–७४ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले यस वर्षमात्र १३ लाख ८८ हजार कुल बचत (नाफा) गर्न सफल भएको जानकारी दिनुभयो । उहाँले आगामी वर्ष ०७४–०७५का लागी करिब ३२ करोड २५ लाख बराबरको अनुमानित आय व्यय समेत प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा संस्थालाई निरन्तर रुपमा योगदान पुर्याएको भन्दै संस्थाका व्यवस्थापक कृष्ण प्रसाद सापकोटालाई सम्मान गरिएको छ । यस्तै विभिन्न भुमिकामा रहेर योगदान पुर्याए वापत युवा स्वोरोजगार कोष नवलपरासीका सदस्यसचिव प्रितम भुजेललाई सम्मान गरिएको छ , भने विभिन्न विधाका उत्कृष्ट ५ शेयर सदस्यलाई पुरस्कृत समेत गरिएको छ । विक्रम सम्बत २०५३ सालमा स्थापित सहकारीको हाल ११ सय शेयर सदस्य रहेका छन् । सहकारीले वचत तथा ऋण लगानीका क्षेत्रमा योगदान पुर्याउदै आएको छ ।