चितवनमा वर्षकै चिसो महसुस, सजग रहन चिकित्सकको सुझाव

चितवन, २३ पुस ।  चितवनमा शनिबार यो वर्षकै सबैभन्दा बढी चिसो महसुस गरिएको छ ।शनिबार भरतपुरको तापक्रम न्यूनतम ३ डिग्री सेल्सियस र उच्चतम ११ डिग्री सेल्सियस रहेको थियो । चिसो बढी भएपछि हरेक चोकचोकमा मानिसहरू आगो बालेर बसेका देखिन्थे । तराईका जिल्लाहरूमा शीतलहरका कारण मानिसहरूको मृत्यु भएका खबरहरू पनि आइरहेका छन् । जसले गर्दा चिसोबाट वृद्धवृद्धा तथा बालबालिकाहरू बढी प्रभावित भएका छन् ।
केही दिनदेखि बढेको चिसो अझै पनि बढ्न सक्ने भन्दै सजग रहन स्वास्थ्यकर्मीहरूले सुझाव दिएका छन् । विशेषगरी सुत्केरी, बालबालिका र वृद्धवृद्धालाई चिसोबाट जोगाउन जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख विजयकुमार झाले सुझाव दिएका छन् । बजारका मानिसहरू बढी मात्रामा मोटरसाइकलमा सवार गर्ने हुँदा सकभर बालबालिकालाई लिएर नहिँड्न उनले आग्रह गरे ।
‘मोटरसाइकलमा हिँड्नेहरूले पनि विशेष सावधानी अपनाउनुपर्छ,’ उनले भने, ‘यो समयमा भिजिविलिटी पनि कम हुने भएकोले स्पिड कन्ट्रोलमा पनि ध्यान दिनुपर्छ ।’ सकभर घरबाहिर नहिँड्न पनि उनले आग्रह गरेका छन् । ‘हिँड्नै परे पनि टन्न कपडा लगाएर मात्रै हिँड्नुपर्छ,’ उनले भने । साथै चिसो बढी नै महसुस भएमा आगो ताप्ने, तातो र झोलिलो पदार्थ सेवन गर्ने र चिसो पदार्थ खानमा रोक लगाएमा चिसोबाट बच्न सकिने उनले बताए । रूघाखोकीलगायत सर्ने र नसर्ने दुवैखालको रोगको संक्रमण फैलिन सक्ने हुँदा यी चिजबाट बच्नुपर्ने उनको भनाइ छ । यदि यस्ता समस्या देखिएमा तुरून्त नजिकको स्वास्थ्य चौकीमा गएर जाँच गराउन पनि उनले आग्रह गरे ।
भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा रूद्रप्रसाद मरासिनीले पनि चिसोबाट जोगिन आमसर्वसाधारणलाई सुझाव दिए । स्वासप्रस्वासको समस्या भएकाहरूलाई बढी समस्या प्रभाव पर्ने भएकोले त्यस्ता व्यक्तिहरू सकभर घरबाहिर ननिस्कन सुझाव दिँदै उनले भने, ‘बाहिर जानैपर्ने बाध्यता भए पनि पूरै जिउ ढाक्ने गरी बाक्लो कपडा लगाएर मात्रै हिँड्नुहोला । किनकि चिसो भरखरै सुरू भएकोले अझै बढ्न सक्छ, त्यसैले सबै सचेत रहनुहोला ।’
न्यानोको लागि आगो बाल्दा पनि दाउराको प्रयोग गर्न स्वास्थ्यकर्मीहरूले आग्रह गरेका छन् । मानिसहरूले टायर, प्लास्टिकलगायत मानव स्वास्थ्यका साथै वायुमण्डलमा समेत प्रत्यक्ष असर गर्नेखालका वस्तुहरू नबाल्न पनि स्वास्थ्यकर्मीले सुझाएका छन् । चारकोललगायत अन्य विद्युतीय माध्यमबाट कोठा तातो बनाउन सकिने भए पनि सतर्क अपनाएर मात्रै यस्ता काम गर्न प्रमुख मेसु डा मरासिनीले सुझाव दिए ।चितवन पोष्टबाट

Promise Education Consultancy