चितवनमा दिनप्रति दिन चिसो बढ्दै, जनजीवन प्रभावित

 

आशिष उप्रेती
चितवन, २२ पुस । चितवनको न्यूनतम तापक्रम आज शनिबार यस वर्षकै कम मापन गरिएको छ । शनिबार बिहान भरतपुरको न्यूनतम तापक्रम ७ दशमलव २ डिग्री सेल्सियसमा झरेको भरतपुर नागरिक उड्डयन कार्यालयले जानकारी दिएको छ । कार्यालयका सिनियर अफिसर क्षितिज ज्ञवालीका अनुसार आज बिहान मापन गरिएको तापक्रम यस वर्षकै सबैभन्दा कम भएको हो । हिजो शुक्रबार भने न्यूनतम तापक्रम ८ डिग्री सेल्सियसमा झरेको थियो । यसअघि जाडोयाम सुरु भएसंगै न्यूनतम ८ र अधिकतम २० डिग्री तापक्रम मापन गरिएको थियो । चितवनमा केहीदिन यता बढेको चिसोका कारण जनजीवन प्रभावित बनेको छ । नारायणगढ, भरतपुर, टाडी, पर्सा, भण्डारा लगाएतका बजारमा सर्वसाधारणको आवागमन पातलिएको छ ।

दुई दिन यता निकै चिसो बढेको छ । मानिसहरूले यो वर्षको अहिलेसम्मकै सबैभन्दा बढी चिसो महसुस गरेका छन् । चिसोका कारण तराईका जिल्लाको जनजीवन प्रभावित बन्दै गएको छ । चितवनमा पनि साझ बिहानको समय बढी चिसो भएकोले मानिसहरू आगोको सहारा खोजिरहेका छन् । विशेष गरि वृद्धवृद्धा र बालबालिकालाई बढी समस्या हुने गरेको छ । साना व्यवसायीलाई पनि चिसोले केही अप्ठ्यारो पारेको छ । चिसोका कारण बिहानै उठ्न नसकिने चितवनका एक स्थानियले बताएका छन् ।

Promise Education Consultancy