चुनावी अभियानमा उत्रिए उम्मेदवारहरु, प्रधान घरदैलोमा, श्रेष्ठ प्रहरी कार्यालयमा

 

चितवन, २२ पुस । उद्योग वाणिज्य संघ चितवनको साधारण सभा तथा अधिवेशन नजिकिँदै गर्दा उवासंघ चितवनका उम्मेदवारहरुले घरदैलो तथा भेटघाट तीव्र पारेका छन् ।
आगामी दुईवर्षे कार्यकालको लागि अध्यक्ष पदमा वर्तमान वरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठ र निवर्तमान वरिष्ठ उपाध्यक्ष सहनलाल प्रधान चुनावी मैदानमा उत्रिएका चितवन पोष्टमा खबर छ । दुवैजनाले नेतृत्व सम्हाल्न आफ्नो पक्षमा भोट माग्दै घरदैलो अभियानलाई तीव्र पारेका छन् ।
सहनलाल प्रधानको प्यानलले शुक्रबार पनि नारायणगढका विभिन्न क्षेत्रमा घरदैलो गरेको छ । प्रधान प्यानलले मिलनरोड र शहिदचोेकदेखि लायन्सचोकसम्म घरदैलो गरेको छ । घरदैलोका क्रममा व्यवसायीहरुले प्रधान प्यानललाई भोट दिन उत्साहित भएको बताएका छन् । उनीहरुले समावेशी रुपमा निर्माण भएको प्यानलले व्यावसायिक हकहितमा काम गर्ने विश्वाससमेत व्यक्त गरेका छन् ।
घरदैलोका क्रममा व्यवसायीसँग कुरा गर्दै अध्यक्ष पदका उम्मेदवार प्रधानले व्यवसाय र व्यवसायीको संरक्षण गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताए । ढुक्कसँग व्यवसाय सञ्चालन गर्ने वातावरण सिर्जना गर्न उम्मेदवारी दिएको उनले बताए ।
सो अवसरमा आफ्नो पक्षमा मत माग्नुका साथै प्यानलले अघि सारेका व्यावसायिक मुद्दाका विषयमा पनि जानकारी गराइएको थियो ।
प्रधान प्यानलबाट वरिष्ठ उपाध्यक्षमा चुननारायण श्रेष्ठ, उपाध्यक्षमा भोजराज कौडाल, चिरञ्जीवी सुवेदी र सुमन श्रेष्ठ उम्मेदवार बनेका छन् ।
यसैगरी, उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठ शुक्रबार दिउँसो प्रहरी कार्यालयमा भेटिए । अध्यक्षका प्रत्याशी श्रेष्ठ केही होटल व्यवसायीसँगै त्यहाँ थिए । प्रहरीले पुल्चोकका एक होटल व्यवसायीलाई झुठा मुद्दा लगाएको भन्दै व्यवसायीको पक्षमा बोल्न र निर्दोष होटल संचालकलाई छुटाउन उनी हालका वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी विष्णु कँडेल, उपाध्यक्ष पदका प्रत्याशी नवीन कँडेल, विपीन रामुदामु र राजेन्द्र कँडेलका साथ उपस्थित थिए ।
‘हो हिजो पनि म व्यवसायीको पक्षमा थिए, आज पनि छु र भोलि पनि रहनेछु,’ छोटो प्रतिक्रिया दिँदै श्रेष्ठले भने, ‘यही आधारमा म आगामी अधिवेशनबाट अध्यक्ष पदमा पुग्दैछु ।’ उद्योग वाणिज्य संघ चितवनको ५१ औँ साधारण सभा तथा अधिवेशन यही ३० गते हुँदैछ ।