चितवन उद्योग संघको अध्यक्षमा भेषराज

राजु चौधरी

चितवन, पुस २१ । चितवन उद्योग संघको १८ औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशन शुक्रबार सम्पन्न भएको छ ।

चितवन प्रदर्शनी केन्द्रमा भएको संघको साधारणसभा तथा अधिवेशनको पूर्व प्रधानमन्त्री, चितवन क्षेत्र नं.३ का साँसद तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समुद्घाटन गर्नुभयो । सो क्रममा बोल्दै प्रमुख अतिथि प्रचण्डले अबको दशक समृद्धिको दशक भएको बताउनुभयो । उहाँले आर्थिक क्रान्ति अबको आवश्यकता भएको भन्दै चितवनको विकासमा चितवन प्रदर्शनी केन्द्र र औद्योगिक क्षेत्र कोशेढुंगा सावित हुने बताउनुभयो ।

कार्यक्रममा नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद अधिकारी, नेपाल घरेलु तथा साना उद्योग महासंघ वरिष्ठ उपाध्यक्ष उमेशप्रसाद सिंह, नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेत, नेकपा एमाले चितवनका अध्यक्ष तथा चितवन क्षेत्र नं.३ का साँसद कृष्णभक्त पोखरेल, प्रदेश सभा सदस्य विजय सुवेदी, चितवन उद्योग संघका पूर्व अध्यक्ष गुणाकर खरेल, नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

समुद्घाटन कार्यक्रममा सफल महिला उद्यमी शान्ता पोखरेल न्यौपानेलाई पूर्व प्रधानमन्त्री प्रचण्डले दोसल्ला र सम्मान पत्रले सम्मान गर्नुभएको थियो । समुद्घाटन सत्रमा संघका वरिष्ठ उपाध्यक्ष भेषराज दुवाडीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने संघका अध्यक्ष भीमबहादुर पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

महासचिव र कोषाध्यक्षको प्रतिवेदन पारित

वार्षिक साधारणसभाको बन्द सत्रमा महासचिव सूर्यप्रसाद न्यौपानेले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष मदन घिमिरेले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएको छ ।

महासचिव न्यौपानेले संघले अघि सारेका धेरै कामहरु सम्पन्न भएको र केही कामहरु मात्र पुरा गर्न नसकेको बताउनुभयो । उहाँले संघको स्वामित्वमा रहेको इच्छाकामना गाउँपालिकाको जुरे थुम्कामा रहेको करिव ५ बिगाहा जमिनलाई अझै व्यवस्थित गर्न बाँकी रहेको बताउनुभयो । वर्तमान कार्यकालमा चितवन प्रदर्शनी केन्द्र निर्माण प्रक्रिया अघि बढ्नुलाई सफलताको रुपमा लिएको छ ।

नयाँ कार्यसमितिको औपचारिक घोषणा र पदस्थापन

संघको नवौं अधिवेशनबाट निर्विरोध निर्वाचित नयाँ कार्यसमितिलाई शुक्रबार पदस्थापन गरिएको छ । नवनिर्वाचित अध्यक्ष भेषराज दुवाडीलाई गर्भनिङ काउन्सिलका संयोजक ताराप्रसाद पौडेललाई सपथ ग्रहण गराउनुभयो भने अध्यक्ष दुवाडीले नवनिर्वाचित पदाधिकारी र कार्यसमिति सदस्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभयो ।

यस्तै संघका निवर्तमान अध्यक्ष भीमबहादुर पाण्डेले नवनिर्वाचित अध्यक्ष भेषराज दुवाडीलाई संघको पिन प्रदान गर्दै पदहस्तान्तरण गर्नुभयो ।

संघको ६ जना उपाध्यक्षहरुमा त्रिलोचन कँडेल, राजु पौडेल, सूर्यप्रसाद न्यौपाने, लक्ष्मणप्रसाद अर्याल, मदन घिमिरे र प्रतिभा श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।

यसैगरि खुल्ला सदस्यहरुमा विष्णुप्रसाद पौडेल, नारायणप्रसाद सापकोटा, विक्रम सापकोटा, सुवास प्रधान, अर्जुनप्रसाद सापकोटा, गजेन्द्र अधिकारी, प्रमोद लामिछाने, दुर्गाप्रसाद भण्डारी, युगराज ओस्ती, पोखरेल मदनचिरञ्जीवि, राशी लामा, जितबहादुर हमाल सर्वसम्मत चयन हुुनु भएको छ । यस्तै वस्तुगत तर्फ ताराबहादुर कार्की, एशोसियट्स तर्फ गोपालप्रसाद गैरे सर्वसम्मत चयन हुनुभएको प्रमुख निर्वाचन अधिकृत अधिवक्ता गोपीलाल देवकोटाले जानकारी दिनुभयो । यस्तै प्रिमियर एशोसियट्समा उम्मेद्वारी नपरेकोले खुल्लाबाट पदपुर्ती गरिएको छ । संघका नवनिर्वाचित अध्यक्ष दुवाडीले प्रकाशचन्द्र भट्टराईलाई सदस्यमा मनोनित समेत गर्नुभएको छ । संघमा निवर्तमान अध्यक्ष भीमबहादुर पाण्डे र कार्यकारी निर्देशक हरिहर भट्टराई पदेन सदस्य रहनुभएको छ ।

यस्तै संघको वरिष्ठ उपाध्यक्ष भने गर्भनिङ काउन्सिलले चयन गर्नेछ । ६ जना उपाध्यक्ष मध्ये एक जनालाई एक वर्ष भित्रमा वरिष्ठ उपाध्यक्षमा चयन गर्ने विधानमा उल्लेख छ । त्यसरी चयन गर्दा गर्भनिङ काउन्सीलले ६ महिनादेखि एक वर्ष भित्रमा उपाध्यक्षले गरेको कार्यलाई मूल्यांकन गर्नेछ ।

Promise Education Consultancy