चितवनमा प्रचण्डले दिए चेतावनी, ‘अब कसैलाई दोष दिने ठाउँ छैन, अझै नचेते ठूलो दुर्घटना’

 

चितवन, पौष २१ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनताले दिएको अभिमतलाई सही ढंगले देश निर्माणमा लगाउन नसके ठूलो दुर्घटना हुनसक्ने चेतावनी दिएका छन् ।

भरतपुरमा चितवन उद्योग संघको नवौं अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशले निकै अप्ठ्याराहरु पार गर्दै राजनीतिक क्रान्तिको समापनतर्फ अघि बढेकोले अबका दशकहरु समृद्धिका दशकका रुपमा अघि बढाउनुपर्नेमा जोड दिए ।

“हिजो विकास भएन भने अरुलाई दोष दिने ठाउँ थियो, कहिले राजालाई, कहिले अमूक पार्टी या नेतालाई’ प्रचण्डले भने, ‘तर अब त्यो छूट हामीलाई छैन । अब हामीले देशलाई समृद्धितर्फ लैजान सकेनौं भने त्यो निकै ठूलो असफलता हुने छ । त्यसमा कुनै अमुक दल या नेतालाई मात्रै दोष दिने ठाउँ हुने छैन । अब भन्न बाँकी कोही छैन, दोष देखाउन कोही बाँकी छैन ।’

राजनीतिक दलहरुबीचको आपसी सहमति र समझदारीका कारण नेपालमा संविधान निर्माण जस्तो चुनौतीपूर्ण काम सम्पन्न गर्न सकिएको भन्दै प्रचण्डले अबको दिनमा समेत आर्थिक क्रान्तिको स्पष्ट खाका अघि सारेर काम गर्नुपर्ने बताए ।

प्रचण्डले भने, “राजनीतिक परिवर्तन त गर्यौं, यहाँ आइपुग्यौं, अप्ठ्यारो परिस्थितिमा सहमति र समझदारीका साथ संविधान निर्माण गर्यौं, निकै ठूलो चुनौतीको सामना गर्दै सिँगो देशलाई निर्वाचनमा लैजान सफल भयौं । मैले पहाडका जनतालाई पट्यार लाग्ने गरी मधेशका जनतासँग संवादलाई निरन्तरता दिएँ । अथक प्रयासपछिस्थानीय, प्रदेश र ंसंघको निर्वाचन सम्पन्न भएको छ । अब अब विकास निर्माणलाई गति दिन सकेनौं भने यो पार्टी, त्यो पार्टी, त्यो नेता होइन, सबैको असफलता हुने छ । देश निकै अप्ठ्यारो स्थितिमा पुग्छ ।”

प्रचण्डले चीन र भारत जस्ता आर्थिक समृद्धितर्फ लम्किरेहा दुबै देशबाट लाभान्वित भएर त्रिदेशीय साझेदारीको रणनीति तर्फ अघि बढ्ने सम्भावना रहेको समेत बताए । राजनीतिक क्रान्तिको समापनसँगै आर्थिक क्रान्तिको माध्यमबाट संसारले उदाहरण दिने गरी विकास र समृद्धितर्फ अघि बढन उनले अपील गरे । “त्यसैले सबैले संकल्प गर्नु जरुरी छ । अबको पाँच वर्षभित्र नयाँ युग आएकै हो भन्ने अनुभूति गराउन सकियो भने आउने दशकहरु समृद्धिको दशकको रुपमा रहने छन् ।”

Promise Education Consultancy