भूकम्पपीडितको घर बनाउने १८ हजार क्यूफिट काठ जंगलमा कुहिँदै

चितवन,२० पुष । गोरखाका भूकम्पपीडितहरुका लागि चितवनबाट १० हजार क्यूफिट काठ गोरखा लैजाने भनिए पनि हालसम्म काठ लगिएको छैन । उनीहरु पुरानो काठले घर बनाउँदै छन् तर जंगलमा दुई वर्षदेखि त्यतिकै रहेको नयाँ काठ बिग्रदै गएको वन प्राविधिकहरु बताउँछन् । जिल्लामा भूकम्प प्रभावितका लागि कुल १८ हजार क्यू फिट काठ छुट्टाइएको थियो ।
साधारण अवस्थामा भन्दा ९० प्रतिशत छुटमा भूकम्पपीडितले घर बनाउनका लागि काठ पाउने व्यवस्था मिलाइएको थियो । सरकारी राजस्वको ९० प्रतिशत छुटमा काठ गोरखा लगिन लागेको भए पनि भूकम्पप्रभावित अहिले पुरानै काठका भरमा घर बनाइरहेका छन् । जंगलमा घामपानीले कुहिने, मक्किने, चोरी हुने, डढेलोले खाने हुँदा भूकम्पपीडितका लागि भनेर छुट्टाइएको काठ जोगाउन गाह्रो भएको वन कार्यालयले जनाएको छ ।चितवन पोष्टमा खबर छ ।
टेण्डर भयो तर लगिएन
‘गोरखा लैजानका लागि काठ तयार छ’, वन कार्यालय चितवनका प्रमुख केदार पौडेलले भने, ‘टेण्डर पनि भयो तर किन किन काठ लगिएको छैन ।’ त्यतिखेर गोरखा वन पैदावार आपूर्ति समितिसँग पैसा नभएको भन्दै उल्टै चार लाख रुपैयाँ वन कार्यालय चितवनले हालिदिएको स्मरण गर्दै पौडेलले लोड भइसकेको काठ पनि झारिएको बताए । काठ लैजाने ठेकेदारले नाफा नहुने देखेपछि काठ नलगिएको हुन सक्ने उनले बताए ।
राष्ट्रिय वनबाट उत्पादिन १८ हजार क्यूफिट काठमध्ये १० हजार क्यूफिट गोरखा लगिने र ८ हजार चितवनमै खपत गर्ने योजना रहेको थियो । तर, गोरखामा काठ नलगिएपछि उक्त काठ अब भूकम्प प्रभावित अन्य जिल्लामा दिन तयारी भइरहेको प्रमुख पौडेलले बताए ।
पुनर्निर्माण प्राधिकरण चितवनका प्रमुख राजेन्द्र कार्कीले तत्कालीन समयमा माग गरिएका काठहरु भूकम्प प्रभावितहरुका लागि पायक पर्ने ठाउँमा नभएकोले पनि समस्या भएको बताए ।
१९१ ले लिए
चितवनमा सामुदायिक वनले पनि भूकम्पपीडितलाई काठ दिने व्यवस्था मिलाइएको छ । हालसम्म १९१ जनाले त्यस्तो सेवा लिएको प्रमुख पौडेलले बताए । हाल न्यूनतम ८०० देखि अधिकतम एक हजार ७०० सम्म आपूर्ति समितिले प्रति क्यूफिट काठ बेचिरहेको छ । चितवनमा दोस्रो किस्ता रकम बुझेपछि आवश्यकता अनुसार काठ उपलब्ध गराइने प्रमुख पौडेलले बताए । हाल दारेचोक क्षेत्रबाट केही निवेदन आएको उल्लेख गर्दै उनले दोस्रो किस्ता लिएको प्रमाण बुझाएपछि काठ दिइने बताएका हुन् ।
अन्य सामान्य सेवाग्राहीलाई तीन हजार रुपैयाँ पर्दा भूकम्प प्रभावितले जम्मा एक हजार रुपैयाँ उही परिमाणमा काठ पाउने गर्छन् । भूकम्प प्रभावित जिल्लाहरुमा भूकम्पबाट भत्केका काठ र काठजन्य सामग्री ओसारपसार गर्ने कार्यविधि–२०७२ अनुसार काठ उपलब्ध भइरहेको कार्यालयले जनाएको छ ।

Promise Education Consultancy