विकट कान्दामा तेक्वान्दोको अन्तर्राष्ट्रिय पदक भित्रियो

चितवन,१९ पुस । चितवनको विकट पहाडी क्षेत्र लोथरको कान्दामा तेक्वान्दो खेलबाट अन्तर्राष्ट्रिय पदक भित्रिएको छ ।
इटहरीमा भएको अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पेनसिपमा प्रतिस्पर्धा गर्न कान्दाबाट गएका पाँचजना खेलाडी मध्ये तीनजनाले पदक जितेका छन् । पदक जितेकामध्ये एकजनाले स्वर्ण र बाँकी दुईजनाले काँस्य जितेका हुन् ।
कान्दा तेक्वान्दो डोजाङकी सावित्री तमाङले प्रतिस्पर्धामा पहिलो भएर स्वर्ण पदक जितिन् । उनी कान्दाको स्कुलमा कक्षा ४ मा पढ्छिन् । सावित्रीले २९ देखि ३३ किलो तौल समूहमा प्रतिस्पर्धा गरेकी थिइन् । मंगलबार भएको प्रतिस्पर्धामा उनले काठमाडौंका दुईजना प्रतिस्पर्धीलाई उछिनेकी हुन् ।
त्यस्तै २९ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका बुद्धिबहादुर प्रजा चेपाङ र सोही तौल समूहमा प्रतिस्पर्धा गरेकी राममाया प्रजा चेपाङले तेस्रो स्थान प्राप्त गर्दै काँस्य पदक जिते । ४१ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका मंगलसिंह प्रजा चेपाङ र ३३ केजी समूहमा विनोद मोक्तान पदकविहीन भए ।
‘यति ठूलो प्रतियोगितामा त्यस्तो विकट ठाउँबाट गएर प्रतिस्पर्धा गरेर स्वर्ण पदकसमेत ल्याउनु चानचुने कुरा होइन’ प्रशिक्षक सुमन दाहालले भने । भण्डारा–मलेखु सडकको यउरेलीटारमा झरेर कान्दा पुग्न हिड्दै पाँच घण्टाभन्दा बढी लाग्छ । भण्डाराबाट यउरेलीटार जानै गाडीमा पनि तीन घण्टाभन्दा बढी लाग्छ । भीरपाखामा हुर्केकाहरु त्यति ठूलो प्रतियोगितामा पुगेका हुन् ।
कान्दामा बाबुराम चेपाङको परिवारले जंगली च्याउ पकाएर खाँदा विसं २०६७ सालको जेठमा उनको घरका एकजना नौ महिने बालक जसले तरकारी खाएका थिएनन् त्यो बाहेक सबै आठजनाको निधन भएको थियो । सो खबर पत्रकारहरुले सार्वजनिक गर्दै स्थलगत रिपोर्टिङ नै गरेपछि कान्दाको अवस्था बदल्न विभिन्न क्षेत्रका व्यक्तिहरु सक्रिय भए ।
यसै क्रममा कान्दा रुपान्तरणमा जोडिएका लक्ष्मी प्रतिष्ठानले त्यहाँ सुविधा सम्पन्न छात्रबास बनाएर विद्यार्थीलाई पढ्ने व्यवस्था मिलायो । साथै अतिरिक्त क्रियाकलापमा पनि उनीहरुलाई अगाडि ल्याउन डेढ वर्षअघि तेक्वान्दो सिकाउन थालियो ।
‘त्यस्तो दुःख र आपतमा पिल्सिएको ठाउँमा हामीले विभिन्न मनकारीहरुसँग चन्दा उठाएर पढाइका साथ साथै अन्य अतिरिक्त क्रियाकलाप पनि गर्दै आएका छौं । तेक्वान्दोमा उनीहरुले पाएको सफलता देख्दा साह्रै हर्ष लागेको छ’ लक्ष्मी प्रतिष्ठानका विष्णु गौतमले भने ।
प्रशिक्षक सुमन दाहालका अनुसार कान्दा डोजाङमा विभिन्न तौल समूहका ४० जनाले प्रशिक्षण लिएका छन् । यसअघि ५४ र ५५ औं जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितामा भाग लिएर त्यहाँका नौजना खेलाडीले काँस्यपदक पाएका थिए ।
इटहरीको जस्तो ठूलो प्रतियोगितामा भने पहिलो पटक भाग लिएका हुन् । इटहरीमा अमेरिका, क्यानडा, भारत बंगलादेशलगायतका १२ देशका खेलाडीहरुले भाग लिएका थिए । सोमबार र मंगलबार सञ्चालन भएको प्रतियोगितामा ८७ वटा इभेन्टमा ७२१ जना खेलाडी जुटेका थिए । कान्दाका साना बालबालिकाको लागि यो ठूलो अवसर थियो ।
यसअघि कान्दा डोजाङका बुद्धिबहादुर चेपाङ थाइल्याण्डमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन छनौट भएका थिए । तर, काठमाडौंमा प्रशिक्षण लिइरहँदा हातमा चोट लागेपछि उनी सहभागी हुन असमर्थ भएका थिए । त्यो दूर्भाग्यको पीडा केही हदसम्म भए पनि इटहरीले बिर्साएको छ ।
फाट्टफुट्ट तामाङ र प्रायः चेपाङ मात्र रहने सो गाउँमा कुनै बेला केटाकेटीहरुले पेटभरी खान र पूरा आङ ढाक्न पनि पाउँदैन थिए । तर, निरन्तरको मिहनेतले छोटो समयमै पनि ठूलो सफलता हात पारेर उनीहरुले दुनियालाई चकित पार्ने काम गरेका छन् । कान्दामा दुःखको मात्रै हैन चमत्कारको कथा पनि तयार भएको छ ।आजको चितवनपोष्टमा खबर छ।

Promise Education Consultancy