भरतपुर महानगरको नगरसभा २१ गते हुदैँ, प्रचण्डले उद्घाटन गर्ने

चितवन,१९ पुस । भरतपुर महानगरपालिकाको नगरसभाको पूर्व प्रधानमन्त्री एंव माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने भएको छ ।

पुष २१ देखि २३ गते सम्म हुने नगरसभाको तयारी अन्तिम चरणमा पुगेको छ । ‘२१ गते दिउँसो १ बजे भरतपुर महानगरपालिकाको नगरसभाको उद्घाटन हुने नगरसभाको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिदैँ मेयर रेणु दाहालले नगरसभाको पूर्वप्रधानमन्त्री एंव माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने बताईन् ।
महानगरको नगरसभाको २१ गते उद्घाटन सत्र हुनेछ भने २२ गते नीति तथा कार्यक्रममाथि व्यापक छलफल हुनेछ । २३ गते झण्डै ३ अर्बको बजेट पारित हुनेछ । नगरसभाले भरतपुरको रणनीतिक गुरुयोजनाहरु पारित गर्नेछ ।कात्तिकमै गर्ने भनिएको नगरसभा प्रतिनिधि तथा प्रदेशसभाको चुनावका कारण पर धकेलिएको थियो ।

नगरसभाले सबैभन्दा बढी रिङरोडलाई प्राथमिकता दिनेछ । सहरी विकास मन्त्रालयबाट उपलव्ध गराइने बजेटबाट रिङरोड निर्माण कार्य थालिने मेयर रेणु दाहालले बताइन् । महानगरले तयार पारेको रिङरोड पुलचोकबाट नारायणी तिरैतिर गोलाघाटसम्म पुग्छ र यता गोन्द्राङबाट जंगलको किनारैकिनार पटिहानी जगतपुर हुँदै गोलाघाटमै गएर ठोक्किन्छ । ‘भरतपुर महानगरको समन्वयमा सहरी विकास मन्त्रालयले तीन वर्ष्भित्र रिङरोडको निर्माण कार्य सक्नेछ’ मेयर दाहालले भनिन्, ‘रिङरोडको शिलान्यास गर्ने तयारीमा महानगरपालिका जुटेको छ ।’
त्यस्तै महानगरले नगरसभाबाट नारायणगढमा–१ र भरतपुरमा १ गरी दुई आकाशेपुल बनाउने नीति तथा कार्यक्रम पारित गर्ने भएको छ । महानगरपालिकाभित्र एउटा सिटी हल र राप्ती नारायणी नदीको तटबन्ध गर्ने कामलाई पनि भरतपुर महानगरको नगरसभाले पारित गर्ने भएको छ ।
मेयर दाहालले सिटी हल कहाँ बनाउने भन्ने विषय छलफलमै रहेको जानकारी दिइन् । शारदानगरको चित्रवन रंगशालालाई पनि नगरसभाले सम्बोधन गर्ने भएको छ । रंगशाला निर्माणलाई चरणबद्ध तरिकाले सम्पन्न गर्ने नीति पनि नगरसभाबाट पास हुनेछ । कालोपत्रे सडकलाई पनि प्रमुख प्राथमिकता दिएर अभियानको रुपमा अगाडि बढाइने महानगरपालिकाले जनाएको छ ।
पर्यटकीय गन्तव्यहरुको पहिचान र विकासलाई पनि नगरसभाले सम्बोधन गर्ने भएको छ । कृषिमा आधुनिकीकरण, उत्पादनमूलक औद्योगिक विकास र खेल क्षेत्रको प्रवद्र्धकमा पनि नगरसभाले बजेट पार्नेछ । वन्यजन्तुको आक्रमणबाट बस्तीलाई जोगाउन वालसहितको मेस जाली राख्ने कामलाई पनि नगरसभाले बजेट छुट्याउनेछ ।
‘कुन शीर्षकमा कति बजेट भनेर छुट्याइएको छैन, हामी छलफलमै छौँ । कस्ता योजनाहरु पारित गर्ने भन्ने कुरालाई प्राथमिकता दिएका हौँ । पहिलो योजनाहरु पेस गर्ने हो, बजेट पार्ने भन्ने कुरा दोस्रो हो’ मेयर दाहालले भनिन् ।यसपटकको नगरसभाले ऐलानी जग्गा, प्रतिजग्गा र सार्वजनिक जग्गाहरुको संरक्षणलाई प्राथमिकता दिनेछ ।
लायन्सचोकको सब्जीमण्डीलाई स्थानान्तरण गरेर त्यहाँ बहुतले सुपर मार्केट बनाउने कामलाई पनि अहिलेको नगरसभाले पारित गर्नेछ । त्यहाँको सव्जीमण्डीलाई भरतपुर–२ क्षेत्रपुरमा सारिएको छ । अण्डरग्राउण्ड पार्किङसहितको भवन बन्ने भरतपुर महानगरले जनाएको छ । अहिले बहुतले भवनको सहरी विकास मन्त्रालयले डीपीआर तयार पार्ने काम गरिरहेको छ । महानगरलाई हरियाली र सरसफाइ बनाइराख्न नगरसभाले थप योजनाहरु पारित गर्ने जनाएको छ ।

Promise Education Consultancy