विकराल बन्दै विषादी आयात,तरकारीमा अत्यधिक प्रयोग

काठमाडौँँ १९ पुस । खाद्यान्न र तरकारीखेतीमा प्रयोग गर्न वार्षिक ७० करोड रुपैयाँको विषादी आयात हुने गरेको छ। सरकारले कृषि पाठशालामार्फत बर्सेनि करोडौं रकम खर्चेर मानव स्वास्थ्यलाई हानि गर्ने विषादीको प्रयोग घटाउँदै लैजान अभियान चलाइरेकै समयमा आयात बढिरहेको छ।आजको अन्नपुर्णपोष्टमा खबर छ।

खाद्यान्न र तरकारीमा अनियन्त्रित रूपमा प्रयोग हुने विषादीको परिमाण घटाउन करिब १५ वर्षदेखि ठूलो लगानीमा सरकारले राष्ट्रिय एकीकृत शत्रुजीव व्यवस्थापन कार्यक्रम (आईपीएम) सञ्चालन गर्दै आएको छ। तर, कार्यक्रम सञ्चालन भएपछि विषादीको आयात घट्नुभन्दा बढ्दै गएको पाइएको छ। यसरी बर्सेनि आयात र प्रयोग बढ्दै जानुले विषादी नियन्त्रण गर्ने कार्यक्रम असफल भएको पुष्टि हुन्छ।

तरकारीमा अत्यधिक प्रयोग

नेपालमा सबैभन्दा बढी तरकारीमा विषादीको प्रयोग हुँदै आएको छ। प्रतिहेक्टरमा एक हजार ६ सय पाँच ग्राम विषादी तरकारीमा प्रयोग हुन्छ। निर्देशनालयका अनुसार आयात हुने विषादीमध्ये ९५ प्रतिशत तरकारीमा प्रयोग भइरहेको छ। आयात हुने कुल विषादीको परिमाणमध्ये ८५ प्रतिशत विषादी बारा, काभ्रे र धादिङका किसानले तरकारीमा प्रयोग गर्दै आएका छन्। ‘अन्य मुलुकको तुलनामा नेपालमा प्रतिहेक्टर प्रतिवर्ष तीन सय ९६ ग्राम खास विषको प्रयोग भए पनि कुल विषादीमध्ये ८५ प्रतिशत तरकारीबालीमै प्रयोग भएको पाइन्छ’, निर्देशनालयका कार्यक्रम निर्र्देशक अच्युतप्रसाद ढकालले भने।

‘विकसित मुलुकका किसानले सचेत भएर संतुलित परिमाणमा मात्रै विषादी प्रयोग गर्ने भएकाले विषादीको प्रकोप नगण्य परिमाणमा भेटिएको हो’, राजभण्डारीले भने। नेपालमा सबैभन्दा बढी तराईमा प्रतिहेक्टर नौ सय ९५ ग्राम विषादीको प्रयोग हुन्छ। उपत्यका क्षेत्रमा चार सय ७० ग्राम र पहाडी क्षेत्रमा तीन सय १४ ग्रामको हाराहारीमा विषादीको प्रयोग हुँदै आएको छ।

विषादीले मानव स्वास्थ्यमा तत्कालीन र दीर्घकालीनरूपमा असर पुर्‍याउने निर्देशनालयका कार्यक्रम निर्देशक ढकालले जानकारी दिए। विषादीका कारण वार्षिक तीन लाख ५५ हजार सर्वसाधारणको विश्वभर मृत्यु हुने गरेको छ।

विषादी प्रयोगको अवस्था

बाली संरक्षण निर्देशनालयका वरिष्ठ अधिकृत राजीवदास राजभण्डारीका अनुसार अन्य मुलुकको तुलनामा नेपालमा विषादीको प्रयोग न्यूून भए पनि सुरक्षित र सन्तुलित रूपमा प्रयोग नभएका कारण नेपालमा विषादीको असर भयावह रूपमा देखिएको हो। दक्षिण कोरियामा प्रतिहेक्टरमा साढे १६ किलो, जापानमा प्रतिहेक्टर ११ किलो, युरोपमा १ किलो नौ सय ग्राम, थाइल्यान्डमा एक किलो ३७ ग्राम, इटलीमा १३ किलो ३५ ग्राम प्रतिहेक्टरमा खास विषको प्रयोग हुँदै आएको छ। राजभण्डारीले भने, ‘तर ती मुलुकका किसान र सर्वसाधारण विषादीबाट उत्पन्न हुने प्रकोपप्रति सचेत भएकाले असर पनि न्यून छ।’

Promise Education Consultancy