पार्टी हेडक्वार्टरमा प्रचण्डको ब्रिफिङ : ५० प्रतिशत पावर लिएर मात्र पार्टी एकता

काठमाडौँँ १९ पुस ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग ५० प्रतिशत ‘पावर’ लिएर मात्र पार्टी एकता हुने बताएका छन् । माओवादी हेडक्वार्टरको मंगलबार खुमलटारमा बसेको विस्तारित बैठकमा प्रचण्डले एमालेसँग ५०-५० प्रतिशत ‘पावर सेयरिङ’ गरेर मात्र पार्टी एकता हुने ‘ब्रिफिङ’ गरेको नेता गणेश शाहले जानकारी दिए ।

‘प्रधानमन्त्रीका रूपमा केपी ओलीलाई स्वीकार गरिसकेका छौँ । उनलाई पाँच वर्षसम्म प्रधामन्त्रीका रूपमा काम गर्न दिनुपर्छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै शाहले भने, ‘संयुक्त पार्टी अध्यक्षका रूपमा मैले पाँच वर्ष नेतृत्व गर्छु । यस्तो भएमा पावर सेयरिङमा पनि ५०-५० प्रतिशत हुन्छ । दुई पार्टीको सम्मानजनक एकता पनि हुन्छ ।’

अध्यक्षसहितको एकता संयोजन समितिको बैठक बस्ने
बैठकमा प्रचण्डले चाँडै एमाले र माओवादी केन्द्रका अध्यक्षसहितको एकता संयोजन बैठक बस्ने जानकारी दिए । ‘मैले केही दिनअघिदेखि ओलीजीसँग छलफल गर्न खोजेको थिएँ, स्वास्थ्यका कारण छलफल हुन पाएको छैन । बुधबार एकता संयोजन समितिको बैठक बस्छ,’ प्रचण्डले भने, ‘दुई पार्टीको अध्यक्षसहितको पावर सेयरिङ, शीर्ष नेताको व्यवस्थापन र समग्र पार्टी एकताको विषयमा छलफल गर्छौँ ।’

एमाले नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, माओवादी नेता रामबहादुर थापा बादल र नारायणकाजी श्रेष्ठको विषयमा पनि एकता संयोजन समिति बैठकमा छलफलले प्रवेश पाउने भएको छ । एमाले–माओवादी एकता जनताबाट अनुमोदन भइसकेकाले जसरी पनि एकता हुने प्रचण्डले उल्लेख गरेको थिए । पर्याप्त गृहकार्य नपुगेकाले पार्टी एकताको विषयमा ठोस खाकासहित प्रगति हुन नसकेको शीर्ष नेतालाई प्रचण्डले ब्रिफिङ गरेका थिए।

Promise Education Consultancy