उद्योग वाणिज्य संघ चितवनमा चुनावी सरगर्मी, श्रेष्ठ र प्रधान अध्यक्षमा प्रतिस्पर्धा गर्दै

तुलमान गुरुङ

भरतपुर,१८ पुष । उद्योग वाणिज्य संघ चितवनको ५१ औँ साधारण सभा तथा अधिवेशनको मिति नजिकिँदै गर्दा चुनावी सरगर्मी निकै बढेको छ ।
आगामी नेतृत्वको लागि दुई वटा प्यानल चुनावी मैदानमा देखिएका छन् । बहालवाला वरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठ र निवर्तमान वरिष्ठ उपाध्यक्ष सहनलाल प्रधानबीच कडा प्रतिस्पर्धा हुने भएको छ । अहिले दुवैजना प्रत्यासी चुनावी प्रचारप्रसारमा व्यस्त छन् ।
व्यवसायीको घरघरमा पुगेर दुवैले जितलाई आ–फ्नो पक्षमा पार्ने कसरत गरिरहेका छन् । वर्तमान वरिष्ठ उपाध्यक्ष श्रेष्ठ रोलक्रमअनुसार अबको नेतृत्व आफैँले पाउनुपर्ने भन्दै चुनावी प्रचारप्रसारमा छन् भने उनका प्रत्यासी सहनलाल प्रधान इतिहासको मूल्यांकन गरेर मत दिन मतदाताहरूलाई आग्रह गरिरहेका छन् । वर्तमान अध्यक्ष राजन गौतमसँग अध्यक्ष पदमा पराजित भएका प्रधान दोस्रोपटक अध्यक्ष पदमा प्रतिस्पर्धामा उत्रिएका हुन् । त्यसो त प्रधान र श्रेष्ठ बालसखा हुन् । तर, आज उनीहरू दुवैजना लोकतान्त्रिक विधि अनुसार चुनावी प्रतिस्पर्धामा छन् । प्रधानले विगत लामो समयसम्म उद्योग वाणिज्य संघमा गरेको लगानी र लगनशीलतालाई जितको आधार मानेका छन् भने श्रेष्ठले लक्ष्मीनारायण बस्त्रालयको घटनालाई मुख्य एजेण्डा बनाएका छन् ।
सोमबार कपडा व्यवसायी संघ नारायणगढको २० औँ साधारण सभामा दुई जना मत माग्न पुगेका थिए । दुवै जनाले कसैलेकसैलाई आलोचना गर्नुभन्दा पनि आफूले गरेका राम्रा कामलाई हेरेर जिताउन कपडा व्यवसायी संघलाई आग्रह गरे । प्रधानले करिब दुई दशक समय उद्योग वाणिज्य संघको लागि समय खर्चिएका छन् । लामो समयसम्ममा उनले दुई कार्यकाल तृतीय उपाध्यक्ष हुँदा त्रैमासिक भेलाको सुरूवात गरेर व्यवसायीको हकहितको पक्षमा काम गरेको दाबी गर्दै आएका छन् ।
त्यतिमात्र नभई आफू वरिष्ठ उपाध्यक्ष हुँदा नारायणी नदी किनारलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नको लागि ४६ वटा सोलार जडान भएको उनले स्मरण गरे । ‘हुन त मैले कार्यसमितिको पदमा रहेर आफ्नो जिम्मेवारी निभाएको हुँ,’ प्रधानले भने, ‘तर, आफ्नो जिम्मेवारीलाई कसरी बहन गर्ने भन्ने विषय मुख्य हो । अहिले नदी किनारको सोलारले गर्दा स्वरूप फेरिएको छ । जसले गर्दा हामी उद्योगी व्यवसायीलाई नै फाइदा भएको छ ।’ उनले आप्mनै नेतृत्वमा भएका धेरै कामले अहिलेसम्म पनि निरन्तरता पाइरहेको र सबै व्यवसायीलाई फाइदा भइरहेको दाबी गरे । त्यसकारण सबै उद्योगी व्यवसायीहरूको सल्लाहबमोजिम अध्यक्ष पदमा उम्मेदवारी दिएको भन्दै अबको सफल नेतृत्व छान्न उनले उद्योगी व्यवसायीहरूलाई आग्रह गरे । सबै उद्योगी व्यवसायीको हक अधिकारको लागि एक दशकभन्दा बढी समय उद्योग वाणिज्य संघको कार्यसमितिमै रहेर काम गरेको अनुभवको आधारमा पनि उद्योगी व्यवसायीले आफूलाई नै विश्वास गरेर जिताउनेमा प्रधान ढुक्क छन् । उनले आफ्नो प्यानलसहित चुनावी मैदानमा उत्रिन लागेको भन्दै अबको एक÷दुई दिनभित्रै पूर्णसमितिको नामावली सार्वजनिक गरिने बताए । व्यक्तिगत भन्दा पनि सामूहिक कार्यले सफलता पाउने भन्दै उनले भने, ‘अबको सफल कार्यसमितिको आवश्यकता महसुस गर्नुभएको छ भने मेरो नेतृत्वमा आएको समितिलाई जिताउनु हुन पनि म अनुरोध गर्दछु ।’
वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठ भने अबको नेतृत्वको लागि उद्योगी व्यवसायीले आफूलाई रोजेकोले उम्मेदवारी दिएको बताए । भरतपुर नारायणगढका व्यवसायीहरूका लागि हरपल हरक्षण आफू सक्रिय रहेको आधारमा यो पटक मतदाताहरूले विश्वास गर्ने उनको भनाइ छ । ‘स्वभाविकरूपमा संस्थाको रोलक्रम अनुसार पनि अबको अध्यक्ष बन्ने पालो मेरै हो,’ उनले भने, ‘त्यसैले पनि मैले उम्मेदवारी दिएको हुँ ।’ अबको आर्थिक विकासको लागि उद्योग वाणिज्य संघको भूमिका महत्वपूर्ण रहेको भन्दै उनले थपे, ‘चितवनलाई तीनखम्बे अर्थनीतिलाई बलियो बनाएको हेर्ने मन छ भने मलाई मतदान गरेर सहयोग गर्नुुस् ।’ खाली उद्योगी व्यवसायीको हकहितमा मात्रै भन्दा पनि सबै क्षेत्रको विकास गर्न सके स्वतस्फूर्त तरिकाले उद्योगी व्यवसायीलाई फाइदा पुग्ने उनको भनाइ छ । आफू पूर्वखेलाडी भएको स्मरण गर्दै श्रेष्ठले भने, ‘चितवनमा एउटा राम्रो खेल मैदान छैन । यदि यहाँको उद्योगी व्यवसायीले फाइदा लिनुछ भने खेलकूदको क्षेत्रमा पनि उत्तिकै सक्रिय भएर काम गर्नुपर्छ ।’ चितवनमै दुई हजार व्यक्ति क्षमताको बहुउद्देश्यीय हल निर्माण गर्न सके देशको मुख्य केन्द्र भएकोले पनि देशका ठूला कार्यक्रमहरू चितवनमा हुने भन्दै त्यसको लागि काम गर्न विगत लामो समयदेखि पहल गरिरहेको बताए । त्यसको लागि पनि आफूले नेतृत्व लिने आँट गरेको उनको भनाइ छ ।
दुवैजना विगत लामो समयदेखि चितवनमा रहेर व्यवसाय गरिरहेका छन् । सहनलाल प्रधान सञ्चार उद्यमी हुन् भने राजुु श्रेष्ठ होटल व्यवसायी हुन् । आफूलाई बालसखा भन्न रूचाउने दुवै जना अहिले एकअर्कालाई पछार्ने दाउँमा लाग्दा सम्बन्ध बिग्रियो भन्ने आवाज पनि सुनिन थालेका छन् । त्यसैले पनि वर्तमान अध्यक्ष राजन गौतमले दुवैजनालाई एकदिनको लागि मात्रै प्रतिस्पर्धीको रूपमा हेर्न आग्रह गरेका छन् । ‘तपाइँहरू दुवैजना ३० गते एकदिन मात्रै प्रतिस्पर्धी हो,’ उनले भने, त्यसअघि सँगसँगै प्रचारप्रसारमा हिडेर सकारात्मक सन्देश दिनुहोस् ।’ अहिले अधिवेशनको मुखैमा आइपुग्दा विभिन्न खालका टिप्पणीहरू आउन थालेकोले को कसका लागि भन्ने विषयमा प्रष्टै भएको भन्दै लोकतान्त्रिक विधिलाई अपनाउने काम मात्रै गरेको बताए । हारजित जे भए पनि भोलिका दिनमा मिलेर काम गर्नुपर्ने भन्दै अहिल्यैदेखि पानी बाराबारको अवस्था सिर्जना नगरिदिन पनि उम्मेदवारहरूलाई सुझाव दिए । आजको चितवन पोष्टमा खबर छ।

Promise Education Consultancy