देवघाटलाई धार्मिक पर्यकीय क्षेत्र बनाउन पहल

आनन्द पोखरेल
चितवन, १८ पुस । धार्मिक हिसाबले मात्रै नभएर सांस्कृतिक तथा पर्यटकीय दृष्टिकोणले समेत देवघाटधाम महत्वपूर्ण सम्पदाको रुपमा रहेको छ । कालीगण्डकी र त्रिशूली नदीको संगमस्थल चितवन, तनहूँ र नवलपरासीको सिमानामा पर्ने देवघाटधाममा रहेको कारण पनि देवघाटको महत्व अझै बढेको नमस्ते बिानी साप्ताहिक पत्रिकामा खबर छ ।
देवघाटधामलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्दै आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्नको लागि स्थानीय संघसंस्थाहरु लागिपरेका छन् । प्रशस्त सम्भावना र ऐतिहासिक महत्व भएर पनि धार्मिक क्षेत्र देवघाटमा धार्मिक पर्यटकको विकास गर्न सकिएको छैन । माघे संक्रान्ति र साउनको सोमबार देवघाटमा स्नान गर्न देश विदेशबाट हजारौँ सर्वसाधारणहरु आए पनि प्रचारप्रसारको अभावमा अन्य समयमा देवघाट घुम्न आउनेको संख्या ज्यादै न्यून हुने गरेको पाइन्छ ।
देवघाटको बेणी संगममा माघे संक्रान्तिका दिन स्नान गरे मनोकाक्षा पूरा हुने विश्वास सहित वेदमा समेत देवघाटधामको महत्व उल्लेख भएको महेश संस्कृत गुरुकुलम् देवघाटका प्राचार्य डाक्टर गुरुप्रसाद सुवेदी बताउँछन् । ‘जहाँ सेती काली नदीहरु मिलेका छन् त्यहाँ देवताहरुले यज्ञ गरेका थिए, त्यो ठाउँमा स्नान ग¥यो भने पुण्य हुन्छ भन्ने ऋग्वेदको मन्त्रले लेखेको छ’ सुवेदीले भने, –‘वेदका मन्त्रले समेत वर्णन गरिएको देवघाट धार्मिक दृष्टिले बसैभन्दा महत्वपूर्ण स्थल हो ।’ भारतमा बग्ने गंगा, यमुना, सरस्वती नदीहरुभन्दा पनि देवघाटमा कलीयुगमा पछिल्लो समयसम्म पनि पूण्य रहिरहन्छ भनेर पुराणहरुमा भनिएको सुवेदीले बताए ।
धार्मिकसँगै देवघाटको इतिहास संस्कृतिसँग पनि जोडिएको सुवेदीले बताए । ‘सिता पृथ्वीमा विलय भएको ठाउँ, वशिष्ट ऋषिले तपस्या गरेको ठाउँ, रामले अश्वमेघ यज्ञ गरेको ठाउँ भनेर प्राचिन इतिहासले समेत देवघाटलाई संकेत गरेको छ’ सुवेदीले भने, –‘पछि पाल्पाका राजा मणिमुकुन्द सेनले तपस्या गरेका, गलेश्वर बाबाले तपस्या तथा साधना गरेका ठाउँ भएकोले यसको इतिहास र संस्कृतिसँग जोडिएको महत्व छ ।’ धार्मिक र पौराणिक दृष्टिले ऋषिमुनीहरु देवघाट क्षेत्रमा घुम्छन् भन्ने मान्यता रहेको सुवेदीले बताए ।
विश्वमा नै दुर्लभ शालिग्राम बोकेर आउने कालीगण्डकी नदी यहाँबाट बग्ने भएकोले विश्वमा नै यो ज्यादै दुर्लभ र हिन्दुहरुको लागि महत्वपूर्ण र आश्थाको विषय बनेको छ । ‘देवघाटधाम धार्मिक, ऐतिहासिक, सांस्कृति र पुरातात्विक तरिकाले महत्वपूर्ण रहेको छ’ सुवेदीले भने, –‘अहिलेको समयमा देशको आर्थिक समुन्नतीका लागि धार्मिक पर्यटनको महत्व हुन्छ, देवघाट जानको कसैलाई पनि निमन्त्रणा दिन पर्दैन उनीहरु आफै आउँछन् ।’ देवघाटमा आइरहेका मानिसको आस्थालाई सदुपयोग हुने गरि स्वागत गर्न सकियो भने, उनीहरुको आस्था र श्रद्धालाई सदुपयोग गर्न सकियो भने नेपालको आर्थिक समृद्धि समेत गर्न सकिने सुवेदीले बताए ।
देवघाटको समग्र विकासका लागि भनेर गठन भएको देवघाट क्षेत्र विकास समितिले पनि सोचेअनुसारको काम गर्न नसक्दा देवघाट धार्मिकरुपमा ओझेलमा परेको महसुस गरिएको छ । सीता भासिएको गुफा, दिनदिनै बढ्ने विश्वास गरिएको शालिग्राम रहेको मन्दिर चक्रवर्ती शीला, श्रीखण्डको बगैंचा रहेको मणिमुकन्दसेन उद्यान पनि देवघाट आउने पर्यटकका लागि आकर्षणको केन्द्र हो । देवघाटको वेणी संगममा त्रिकोणात्मक पुल बनेपछि गैंडाकोटको मौलाकालिका मन्दिर र देवघाटलाई पर्यटकीय हिसावले जोड्न सकिने देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलको भनाइ छ ।
देवघाट नेपालको मध्यभागमा पर्ने पूण्य भूमि, आध्यात्मिक भूमि तथा देवताहरु घुम्न आउने ठाउँ भएकोले यसको विशेष महत्व रहेको पौडेलले बताए । ‘देवघाटमा धार्मिक पर्यटन प्रवद्र्धन गर्न कसरी सकिन्छ भनेर हामीले पटक पटक छलफल गरिरहेका छौँ’ पौडेलले भने, –‘देवघाटको कालीगण्डकी र त्रिशूली नदीको संगममा त्रिकोणात्मक पुल बनाउनको लागि समेत काम सुरु भइसको छ, यसले यहाँको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्नेछ ।’ नेपालकै नमुनाको रुपमा त्रिकोणात्मक पुल बन्ने भनेर नक्सा समेत तयार भइसकेको पौडेलले बताए ।
देवघाटमा त्रिकोणात्मक पुल बनेपछि यहाँ आउने पर्यटकको संख्यामा अहिलको तुलनामा दोब्बर बृद्धि हुने पौडेलको भनाइ छ । ‘अहिले देवघाटमा आएका धार्मिक पर्यटक र गैंडाकोटको मौलाकालिकामा आएका धार्मिक पर्यटकहरुले सहज रुपमा दुवै ठाउँको भ्रमण तथा दर्शन गर्न पाएका छैनन्’ पौडेलले भने, –‘मौलाकालिकाबाट देवघाटसम्म आउने सिँडी मार्ग निर्माण भएपछि यहाँ घुम्न आउने पर्यटकहरु थप बढ्ने हामीले अपेक्षा गरेका छौँ ।’ मौलाकालिकाबाट देवघाट झर्ने सिँडीमार्ग निर्माणपछि गैंडाकोटबाट गएर गैंडाकोट नै फर्किनुपर्ने अवस्थाको अन्त्य हुने उल्लेख गर्दै पौडेलले धार्मिक चक्रपथ निर्माणले धार्मिक पर्यटकको संख्यामा वृद्धि हुने बताए ।
देवघाट क्षेत्रमा तीन वटा ठूला वृद्धाश्रमहरु रहेका छन्, जहाँ नेपालका विभिन्न जिल्लाका ज्येष्ठ नागरिकहरु बस्दै आएका छन् । विशेष त स्कूल कलेजका विद्यार्थीलाई वृद्धाश्रम भ्रमण र अनुभव साँटासाटका कार्यक्रम दिन सकिने हो भने यसले आन्तरिक पर्यटनको विकासमा टेवा पुग्ने देखिन्छ ।

Promise Education Consultancy