सम्पादकीय : जनप्रतिनिधिको जिम्मेवारी

विभिन्न तीन चरणमा गरेर स्थानीय तहको निर्वाचन भएपछि यतिबेला जनताद्वारा छानिएका प्रतिनिधिहरुले काम गरिरहेका छन् । निर्वाचनको बेला विभिन्न योजना तथा घोषणा गरेर जनताको घरदैलोमा पुगेका जनप्रतिनिधिहरु निर्वाचित भएपछि अहिले जनताको काम गर्ने थलो सम्हालेर बसेका छन् । लामो समयपछि पुनर्संरचना भएका स्थानीय तहले जनप्रतिनिधि पाएका छन् । करिब २० वर्षपछि पहिलेको भन्दा फरक संरचनामा बनेका स्थानीय तहमा जनताले छानेका प्रतिनिधिको प्रबेशले आम सर्वसाधारणमा छुट्टै उत्साह छाएको छ । कर्मचारीतन्त्रको दुःख दिने प्रवृत्ति र आफ्ना गुनासो सुन्ने निकाय नभएर व्याकुल बनेका सर्वसाधारणको लागि स्थानीय तहमा निर्वाचित भएका व्यक्ति आशाका केन्द्र हुन् । अमुल्य मतको दान गरेर जनताले कुनै पार्टी वा संगठनका व्यक्तिहरुलाई स्थानीय तहको बागडोर सम्हाल्न पठाएका हैनन् । जनताका काम गर्ने आशाले पठाएका हुन् ।
पहिलो चरणमा स्थानीय तहको निर्वाचन भएको आधा वर्ष बितेको छ । निर्वाचित भएको एक सय दिनमा गरेर देखाउँछौं भनेका कामहरु समेत निर्वाचित सदस्यहरुले आधा वर्षमा समेत सुरुवात नगरेको गुनासो आम सर्वसाधारणमा छ । केही वडा, गाउँपालिका र नगरपालिकाका नमुना जनप्रतिनिधिहरुले बाहेक अन्यले लामो समय बितिसक्दा समेत कामको थालनी गरेको देखिदैन । संक्रमणमा रहेका स्थानीय तहको लागि उपल्लो तहबाट आएका नीति निर्देशनका कारण केही वाधा त होलान् तर तल्लो तहका सर्वसाधारणका काम गर्नको लागि भने कुनैपनि बाधा व्यवधान नभएको कुरा प्रष्ट छ । नगरपालिका, गाउँपालिका तथा वडाहरुमा आएको बजेटलाई कनिका बाँडेको जस्तो बाँडेर पुरानै प्रवृत्तिमा काम गर्नको लागि जनताले चुनेर पठाएका हैनन् । अब जनप्रतिनिधिहरुले बनेका अनावस्यक बाटाहरुको स्तरोउन्नती, पानी नआउने धारामा टुटीको व्यवस्थापन, प्राविधिक नभएको स्वास्थ्य संस्थामा एक्सरे मेसीन हैन नयाँ बाटोहरुको निर्माण तथा दिगो व्यवस्थापन, धाराहरुमा पानीको व्यवस्था, स्वास्थ्य संस्थाहरुमा डाक्टर तथा कर्मचारीको व्यवस्था र विद्यालयहरुमा शिक्षकको व्यवस्थापन गर्दै उपलब्ध स्थानीय स्रोत साधनको प्रयोग गरी उत्पादनशील क्षेत्रमा काम गर्न जरुरी छ ।
नमुना काम गरेकाहरुको अनुसरण गर्दै आफैले जनताको प्रत्यक्ष सहभागितामा तय भएका योजनाहरुका लागि बजेटको व्यवस्थापन गर्दै कामको थालनी गर्नु आजको आवश्यकता हो । गरिबी न्यूनिकरण र रोजगारी सिर्जना हुने गरी कामको थालनी गरौँ । तबमात्र जनताले जनप्रतिनिधिप्रति विश्वास गर्नेछन् । पुनर्संरचना हुँदै लामो समयपछि भएको स्थानीय तहको निर्वाचनबाट जनताको काम गर्ने प्रतिवद्धता सहित स्थानीय तहमा पुगेका व्यक्तिबाट जनताले धेरै आशा अनि अपेक्षा गरेका छन् । जनताको आशालाई निराशामा परिणत हुन नदिइ जनप्रतिनिधिले निर्वाचन अगाडिको प्रतिवद्धता अनुसार काम गर्नुपर्छ ।

Promise Education Consultancy