रामपुरस्थित कृषि विश्वविद्यालयमा विद्यार्थीले गरे तालाबन्दी

चितवन,१६ पुष । रामपुरस्थित कृषि विश्वविद्यलयमा विद्यार्गीहरुले तालाबन्दी गरेका छन् । चितवनको रामपुरस्थित कृषि तथा वनविज्ञान विश्वविद्यालयअन्तर्गत भेटेनरी संकायमा अध्ययरत विद्यार्थीहरुले इन्टर्नसीप भत्ता वृद्धिको माग गर्दै विश्वविद्यालयमा तालाबन्दी गरेका छन् ।

भेटेनरी नवौं समेष्टरमा अध्ययन गर्ने विद्यार्थीहरुले शाखा अधिकृतको तलव स्केलको ७५ प्रतिशत हुन आउने रकम भत्ता स्वरूप दिनुपर्ने माग गर्दै विश्वविद्यालयको केन्द्रीय कार्यालय, डिन कार्यालय, शैक्षिक प्रशासन र आर्थिक प्रशासन शाखाका तालावन्दी गरेका हुन् । विश्वविद्यालयले इन्टर्नसीप भत्ता भन्दै प्रतिविद्यार्थी प्रतिमहिना ८ हजार ५ सय रुपैयाँका दरले ६ महिनाको रकम उपलब्ध गराउँदै आएको छ ।

यसो हुँदा एक समेष्टरमा विश्वविद्यालयले २५ लाख ५० हजार रकम इन्टर्नसीपको लागि खर्च गरेको छ । तर, यसपटक विद्यार्थीहरुले सो भत्ता कम भएको भन्दै शाखा अधिकृतले पाउने तलवको ७५ प्रतिशत झण्डै २२ हजार भत्ता प्रतिविद्यार्थी माग गरेका छन् ।

भेटेनरी संकायको प्रत्येक सेमेष्टरमा ५० जना विद्यार्थी अध्ययनरत छन् । तिमध्ये ४० जनाले प्रत्येक सेमेष्टर होस्टल खर्चसहित भर्ना हुँदा जम्मा चार हजार पाँच सय रुपैयाँ मात्रै बुझाउँदै आएका छन् । विश्वविद्यालयमा भेटेनरीको १० सेमेष्टर चल्छ । सो अवधिमा विद्यार्थीहरूले ३२ दिन भ्रमण गर्दछन् । भ्रमणको दैनिक चारसय भत्ता अलगै विश्वविद्यालयले तिर्दै आएको छ ।

एक समेष्टरमा विश्वविद्यालयले बस खर्च बाहेक ६ लाख ४० हजार भत्तामा खर्च गर्दछ । नवौं समेष्टरमा अध्ययन गर्ने विद्यार्थीले थालेको आन्दोलनमा त्यसपछिका समेष्टरमा अध्ययन गर्ने विद्यार्थीले समेत साथ दिएका छन् ।नवौं समेष्टरका विद्यार्थीहरूलाई भारतको तमिलनाडुस्थित भेटेनरी एण्ड एनिमल साइन्स विश्विद्यालयमा इन्टर्नसीपको लागि पठाउने तयारी विश्वविद्यालयले गरिरहेको बेला तालावन्दी गरिएको विश्वविद्यालय प्रशासनले जनाएको छ ।

भेटेनरी नवौं समेष्टरमा अध्ययनरत विद्यार्थी प्रकाश अधिकारीले विगत ८ वर्षदेखि विश्वविद्यालयले इन्टर्नसीप भत्ता नबढाएकोले आन्दोलन गरिएको दावी गरे । ‘इन्टर्नसीपमा जाँदा खान बस्न पुग्ने पैसा विश्वविद्यालयसँग मागेको हो,’ अधिकारीले भने, ‘वीचमा नेगोसियसन गर्न सकिन्छ ।’पढ्न आएका विद्यार्थीले तलवसरह भत्ता मागेपछि पूरा गर्न नसकिने जनाउ विश्वविद्यालय प्रशासनले दिएको छ ।

Promise Education Consultancy