माइती नेपाल चितवनको वार्षिक समीक्षा

चितवन, १६ पुस । माइती नेपालको क्षेत्रीय कार्यालय चितवनले सन् २०१७ मा विदेश बेचिन लागेका तीन सय ३२ जना विद्यार्थीहरुलाई उद्धार गरेको जनाएको छ ।

माइती नेपालको नारायणगढ बसपार्कमा रहेको सूचना केन्द्रले चेक जाँच गर्दा विभिन्न समयमा सार्वजनिक बसबाट विद्यार्थीलाई उद्धार गरिएको जनाएको छ । विद्यालय पोशाक झोलामा राखेर लामो दूरीको सवारी साधनमा शंकास्पद रुपमा यात्रा गरेको देखेपछि सोधखोज गर्दा बेच्न लैजान लागेको बुझिएपछि उनीहरुलाई उद्धार गरिएको माइती नेपाल चितवनले आइतबार नारायणगढमा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ । सार्वजनिक सवारी साधनबाट उद्धार गरिएका सबै विद्यार्थीहरुलाई परिवारको जिम्मा लगाइएको माइती नेपाल चितवनका क्षेत्रीय संयोजक ईश्वर गिरीले बताए ।

त्यस्तै सन् २०१७ मा ८९ जना युवतीहरुको नेपालका विभिन्न ठाउँबाट उद्धार गरेर परिवारमा पुनर्मिलन गराइएको, १९ जना युवतीको सीमाबाट उद्धार गरिएको गिरीले जानकारी दिए । माइती नेपालमा एक वर्षको अवधिमा घरेलु हिंसामा परेका ४० जना महिलाले उजुरी दिएकोमा तीन जनाको समाधान गरिएको गिरीले बताए । विभिन्न संघसंस्थासँगको सहकार्यमा वैदेशिक रोजगार सम्बन्धी समेत जनचेतना फैलाउँदै आएको माइती नेपालले विद्यार्थी लक्षित कार्यक्रम समेत गर्दै आएको छ ।

माइती नेपालको चितवन कार्यालयले एक वर्षमा छ सय ३५ छात्रा सहित एक हजार ७२ विद्यार्थीलाई मानव बेचबिखन सम्बन्धी सचेतना प्रदान गरेको माइती नेपाल चितवन कार्यालयकी प्रतिनिधि जयन्ती खनालले बताइन् । चितवनको साविकको दारेचोक र कविलास गाविसका चार हजार नौ सय ३८ जनालाई माइती नेपालले विभिन्न सचेतनामूलक पोस्टर तथा पम्प्लेटहरु वितरण गरेको खनालले जानकारी दिइन् । माइती नेपालले उद्धार गरेका व्यक्तिहरुबाट एक वर्ष भरीमा बहुबिवाह, जबरजस्ती करणी र मानव बेचबिखन सम्बन्धी विभिन्न सात वटा मुद्दा समेत चलाएको छ ।

Promise Education Consultancy