बर्षा अघि नै ६० प्रतिशत भूकम्पपीडितको आवास बन्छ : प्रमुख भुसाल

हिरालाल गुरुङ

चितवन, १५  पुष । पुर्ननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) यूवराज भुसालले  बर्षा अघि नै ६० प्रतिशत भूकम्प पीडितको घर बनी सक्ने बताउनुभएको छ ।  शनिबार ईच्छाकामना गाउँपालिकाको कार्यालयमा ईच्छाकामना गाउँपालिकाको पुर्ननिर्माण कार्यप्रगतिबारे जानकारी लिदैँ  प्रमुख भुसालले बर्षा अगाबै ६० प्रतिशत भूकम्प पीडतहरुले सुरक्षित आवास पाउने बताउनुभएको हो ।

उहाँले ७ लाख ४७ हजार घर निर्माण गर्नु पर्नेमा अहिले सम्म ८० हजार निर्माण भईसकेको र  पुर्ननिर्माणको काम तीव्र गतिमा बढिरहेको दावी गर्नुभयो ।

कार्यक्रममा जिल्ला प्राधिकरणका प्रमुख राजेन्द्र  कार्कीले चितवन जिल्लाको कार्यप्रगती बारे जानकारी दिनुभयो ।  प्रमुख कार्कीले  जिल्लामा  ७ हजार ३ सय ३५ पहिचान भएका लाभग्राही मध्ये ५ हजार १ सय ५५ ले पहिलो किस्ताको रकम लिइसकेको  जानकारी दिनुभयो ।   अझै २ हजार १ सय ८० जना लाभग्राहीको सम्झौता हुन बाँकी रहेको पनि उहाँले जानकारी दिदैँ सार्वजनिक जग्गामा बसेको लालपुर्जा विहिन भूकम्प पीडित र जोखिमयुक्त बस्तीका कारण पुर्ननिर्माणमा कठिनाई भएको बताउनुभयो ।
दुईलाख लिदा बस्दै आएको जग्गा छोड्नु पर्ने डरले  कबुलियती तथा सार्वजनिक जग्गामा बस्दै आएका लाभग्राहीहरुले सम्झौता गर्न आनाकानी गरिरहेको  प्रमुख कार्कीको भनाई छ ।
साथै   ईच्छाकामना गाउँपालिकामा १०२ घरधुरी जोखिमयुक्त रहेको जानकारी दिनुभयो ।जेखिमयुक्त घरलाई स्थानान्तर गर्दा नजिक रहेको तर जोखिममा नरहेको घर पनि स्थानान्तर गर्न दबाब आएका कारण कठिनाई भएको प्रमुख कार्कीको भनाई छ ।

गाउँपालिकाका उपाध्यक्ष  कृति कुमार श्रेष्ठले पनि  लाल पुर्जा नभएका तर बर्षौदेखि बस्दै आएका भूकम्पपीडितहरुको हकमा समस्या परेको जानकारी दिनुभयो।उपाध्यक्ष श्रेष्ठले गाउँपालिका पूर्ननिर्माण कार्यमा जोडदार लागिपरेको  बताउँदै केही अप्ठ्यारा आए फिल्डमा खटिएका प्राविधिक,ईन्जिनियरहरुलाई जानकारी गराउन आग्रह गर्नुभयो ।

ईच्छाकामना गाउँपालिकामा २ हजार ३५१  लाभग्राहीहरु रहेकोमा १ हजार ८ सय भन्दा बढिले पहिलो किस्ताको रकम लिईसकेका छन् भने १ हजार ४ सय गुनासो आएको गाउँपालिकाका प्रशासकीय अधिकृत  नरहरी सापकोटाले जानकारी दिनुभयो ।

कार्यक्रममा इच्छाकामना गाउँपालिकाका  जनप्रतिनिधी हरु लगायतले पुर्ननिर्माण बारे कानुनी जटिलताका बारेमा जिज्ञासा राखेका थिए ।

Promise Education Consultancy