इपिएल क्रिकेटको रोमाञ्चक फाईनल, १ रनको सनसनीपूर्ण जितले बन्यो विराटनगर च्याम्पियन

काठमाडौँ, १५ मंसिर । एभरेस्ट प्रिमियर लिग (इपीएल) ट्वेन्टी–२० क्रिकेट प्रतियोगिताको उपाधि विराटनगर वारियर्सले जितेको छ ।शनिबार त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा भएको रोमान्चक फाइनल खेलमा विराटनगरले भैरहवा ग्लाडिएटर्सलाई १ रनले पराजित गर्दै उपाधि उचालेको हो ।
च्याम्पियन भएसँगै विराटनगरले २१ लाख रुपैयाँ पुरस्कार पाएको छ ।

१५० रनको विजय लक्ष्य पछ्याएको भैरहवाले निर्धारित् २० ओभरमा ९ विकेट गुमाएर १४८ रनमात्र बनाएपछि विराटनगरले सनसनीपूर्ण जित हासिल गर्‍यो ।

एकपटक खेल भैरहवाको पक्षमा गइसकेकोजस्तो देखिएको अवस्थामा विराटनगरका बलरले उत्कृष्ट प्रदर्शन गर्दै टिमलाई जिताएका हुन् ।

भैरहवाका लागि कप्तान शरद भेषावकरले सर्वाधिक ५२ रन बनाए । ३९ बल खेलेका उनले ४ चौका र ४ छक्का प्रहार गरे ।

भैरहवाका लागि प्रथम सालुन्केले ३० र आरिफ शेखले २७ रनको योगदान दिए । तर, अरु ब्याट्सम्यान चल्न नसक्दा भैरहवा च्याम्पियन बन्नबाट चुक्यो ।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ७ विकेट गुमाएर १४९ रन बनाएको थियो ।

विराटनगरका लागि अंशुमन रथले सर्वाधिक ४१, कप्तान पारस खड्काले २७, अनिल साहले २२ र प्रनित थापामगरले १६ र बाबर हायतले ११ रनको योगदान गरे ।

भैरहवाका लागि कृष्ण कार्की र हरिशंकर साहले समान २र२ तथा शरद भेषावकर र आरिफ शेखले समान १र१ विकेट लिए ।

यसअघि, लिग चरण र पहिलो क्यालिफायर्समा पनि विराटनगरले भैरहवालाई पराजित गरेको थियो ।

Promise Education Consultancy