आफूमाथिको हिंसाविरुद्ध संगठित हुन थाले महिला

विराटनगर, १५ मंसिर ।सरोकारबाला निकायले चासो बढाएपछि मोरङको केराबारी गाउँपालिकामा महिला हिंसाका घटना धमाधम सार्वजनिक हुन थालेका छन् । महिला सञ्जाल केराबारीले पीडितको पक्षमा काम गर्न थालेपछि हिंसापीडित महिला न्याय खोज्दै खुलेर बाहिर आउन थालेका हुन् । केराबारी गाउँपालिकामा महिला र किशोरी रक्षाका लागि सञ्जाल निर्माण गरेर महिला हिंसा न्यूनीकरण अभियान सुरु गरिएको छ । अभियान सुरु भएपछि जबर्जस्ती करणी, बालविवाह, बहुविवाह, कुटपिटलगायत महिला हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको हो ।

गएको एक वर्षमा केराबारीमा २२ वटा महिला हिंसाका घटना भएका महिला सञ्जाल केराबारीले जनाएको छ । सार्वजनिक भएका हिंसाका घटनामा जबर्जस्ती करणीका ८ वटा, करणी उद्योगका ४ वटा र अन्य हिंसाका घटना १० वटा छन् । सार्वजनिक भएका अधिकांश घटनाका पीडकमाथि कानुनी कार्बाही सुरु भइसकेको छ । आजको नयाँपत्रिकामा खबर छ।

हिंसाविरुद्ध महिला संगठित
किशोरी र महिलाको जीवन रक्षाका लागि स्थानीय प्रहरी र गाउँपालिकासँग समन्वय गरी पीडकलाई कानुनी कार्बाही तथा पीडितलाई न्याय दिने क्रम सुरु भएको महिला अधिकारकर्मी निर्मला राईले बताइन् । अहिले टोलटोलमा आफूमाथिको हिंसाविरुद्ध महिला संगठित रूपमा बाहिर आउने क्रम बढेको छ । ‘पहिला हिंसाका घटना यदाकदा मात्र सार्वजनिक हुन्थे । अचेल पीडितका आफन्त र सहयोगीसमेत संगठित रूपमा न्याय माग्दै सञ्जाल र समूहमा आउन थालेका छन्,’ राईले भनिन्, ‘यसले महिला हिंसा कम गर्न र पीडितलाई न्याय दिलाउन सहयोग पुगेको छ ।’

Promise Education Consultancy