स्वर्गीय राजा वीरेन्द्रको स्मृतिमा दीप प्रज्ज्वलन

चितवन, १४ पुस । स्वर्गीय राजा वीरेन्द्र वीरविक्रम शाहको ७३ औँ जन्म जयन्तिको अवसर पारेर भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पसमा दीप प्रज्ज्वलन गरिएको छ ।
नेपाल विद्यार्थी संघ वीरेन्द्र बहुमुखी क्याम्पसको आयोजनामा गरिएको कार्यक्रममा क्याम्पस प्रमुख गोविन्द सापकोटा प्रमुख अतिथि रहेका थिए । सापकोटाले स्वर्गीय राजा वीरेन्द्रलाई मिलनसार र विकासप्रेमी राजाको रुपमा स्मरण गर्दै नेपालको इतिहासमा नै प्रजातान्त्रिक राजा भएको बताए । राजा वीरेन्द्र जिवित भएको भए अहिलेको अवस्थामा संवैधानिक राजा वा शेरेमोनिय राजतन्त्र नेपालमा रहन सक्ने अवस्था भएको सापकोटाको भनाइ थियो ।
राजा वीरेन्द्र एक शासक मात्रै नभएर जनताप्रति जिम्मेवार र उत्तरदायी व्यक्ति भएको समेत सापकोटाले बताए । उनैको नाममा भरतपुरमा विक्रम सम्वत् २०२२ सालमा वीरेन्द्र बहुमुखी क्याम्पसको स्थापना गरिएकोले समेत पुस १४ मा दीप प्रज्ज्वलन गरिएको नेवि संघ वीरेन्द्र क्याम्पसका सभापति बचन कार्कीले बताए । राजा वीरेन्द्रको जन्म दिन राज्यले बिर्सिएको भएपनि विद्यार्थीहरुले कहिल्यै पनि उनको यादलाई बिर्सन नसक्ने भएकोले आज दीप प्रज्ज्वलन गरिएको कार्कीको भनाइ थियो ।
शुक्रबार साँझ गरिएको दीप प्रज्ज्वलन कार्यक्रममा वीरेन्द्र बहुमुखी क्याम्पसका समाजशास्त्र शंकाय तर्फका विभागीय प्रमुख केशवराज सापकोटा, प्राध्यापकहरु प्राडा सिताराम बहादुर थापा, कृष्णकान्त पौडेल, शीरोमणि पराजुली, अन्य प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।