मन्त्रिपरिषदमा राप्रपाका दुई मन्त्रीको विवाद, मुख्य सचिव रेग्मिद्धारा बैठकमा प्रतिवाद

काठमाडौँ, १४ पुष  मन्त्रिपरिषद् बैठकमा सचिवहरू र मुख्यसचिवविरुद्ध मन्त्रीहरू आक्रोशित भएका छन् । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकमा उपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित आधा दर्जन मन्त्रीले निर्वाचनपछि सचिवहरूले टेर्न छाडेको र यसमा मुख्यसचिवकै भूमिका रहेको आरोप लगाएका थिए ।आजको नयाँपत्रिकामा खबर छ ।

विवाद बढ्दै जाँदा २० मिनेट चर्काचर्की भएको थियो । सोहीबीचमा सहरी विकासमन्त्री दिलनाथ गिरीले सचिव हटाउने प्रस्ताव गरे, उपप्रधानमन्त्री एवं ऊर्जामन्त्री कमल थापाले प्रतिवाद गरेपछि दुवैले एक–अर्काको राजीनामा मागे । राप्रपाका दुई मन्त्रीको बाझाबाझ भएको तथा सचिवहरूले मन्त्रीलाई नटेरेको आरोपपछि प्रधानमन्त्री शेरबहादुर देउवाले स्थिति सम्हालेका थिए ।

मुख्यसचिव रेग्मीले सरकारलाई सहयोग नगरेको आरोप
पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्र देवले बैठकमा मुख्य सचिव लोकदर्शन रेग्मीविरुद्ध आक्रोश पोखेका थिए । स्रोतका अनुसार मन्त्री देवले रेग्मीले सचिवहरूलाई सर्कुलर गरी वर्तमान मन्त्रीहरूको प्रस्ताव तयार नपार्न र उनीहरूले भनेअनुसार काम नगर्न निर्देशन दिएको आरोप लगाएका थिए । उनले मुख्य सचिवकै असहयोगका कारण नागरिक उड्डयन प्राधिकरण (क्यान) का महाप्रबन्धक सञ्जीव गौतमलाई हटाउन नसकिएको बताएका थिए । ‘सुरुमा निर्वाचन आचार संहिताका नाममा निर्वाचन आयोगमा गएर बयान दिनुपर्ने स्थिति आयो । अहिले आएर सचिवलाई मन्त्रीले भनेको नमान्नु भन्दा फाइल उठाउन सक्ने स्थिति छैन,’ मन्त्री देवले भनेका थिए । उनले सरकार रहँदासम्म राजनीतिक नियुक्ति, सरुवा बढुवा गर्ने अधिकार रहने बताएका थिए ।

मन्त्री देवपछि भौतिक पूर्वाधार तथा यातायातामन्त्री वीरबहादुर बलायर, कृषि विकासमन्त्री रामकृष्ण यादव, उपप्रधान तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार र सहरी विकासमन्त्री दिलनाथ गिरीले मुख्य सचिवको भूमिकामाथि प्रश्न उठाएका थिए । उपप्रधानमन्त्री गच्छदारले निर्वाचन क्षेत्र विकास कोषको पैसा सरकारले खर्च गर्न पाउनुपर्ने माग गरे । सहरी विकासमन्त्री गिरीले सचिवले मन्त्रीको आदेश मान्नुपर्ने कि मन्त्रीले सचिवको आदेश भन्दै प्रश्न गरेका थिए । ‘हामी रहेसम्म कानुनबमोजिम हाम्रो निर्देशन सचिवले मान्नुपर्छ, तर हामीलाई सहयोग भइरहेको छैन,’ गिरीले भने ।

Promise Education Consultancy